कोहलपुर : कोहलपुरमा सुरु भएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राईजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । कोहलपुरमा शनिबारदेखि उक्त प्रतियोगिता सञ्चालनमा आएको हो । कोहलपुरस्थित तेह्र विगाहा खेल मैदानमा आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा भारतको साहारा क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै नवलपरासीले विजयी सुरुवात गरेको हो ।
खेल अवधिभर दुबै टिमले गोल गर्न थुप्रै प्रयास गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा समेत दुबै टोली गोल गर्न असफल भएका थिए । निर्धारित ९० मिनेटभित्र कुनैपनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलियो । पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी भाग्यमानी ठहरियो । गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गर्यो ।
टिमलाई जिताउन साहाराका सुनारले पेनाल्टीमा तीन वटा गोल जोगाए । राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । सुनार नगद पाँच हजार रुपैयाँसहित सम्मानित भए । म्यान अफ द म्याच घोषित सुनारलाई कोहलपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवम् समाजसेवी लक्ष्मरणराज पौडेलले पुररस्कार हस्तान्तरण गरे ।
गोल्डकपको पहिलो दिन सम्पन्न पहिलो क्वाटर फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले विजयी भएको थियो । शनिबार सम्पन्न भएको उक्त खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २-० गोलले हराउँदै आयोजक टिमले विजयी सुरुवागत गरेको थियो ।
भोलि प्लानिङ व्वाईज युनाइटेड क्लब र राईनो फुटबल क्लबबीच प्रतिस्पर्धा
गोल्डकपमा सोमबार (भोलि) दिउँसो ३ बजे प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब गण्डकीबीच हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा घाना र भारतसहित ८ वटा टिम सहभागी छन् । अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लब तथा प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब सहभागी भएको बताइएको छ ।
यही फागुन २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका विजेता टिमले ८ लाख नगद रुपैयाँसहित प्रमाणपत्र, मेडल र ट्रफी तथार उपविजेता टिमले नगद ४ लाख रुपैयाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।