नेपालगन्ज : विभिन्न कार्यक्रम गरी नेपालगन्जमा शनिबार ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । बाँकेको नेपालगन्ज, कोहलपुर लगायत विभिन्न स्थानीय तहमा छुट्टा-छुट्टै कार्यक्रम गरेर उक्त दिवस मनाइएको हो । दिवसको अवसरमा आज बिहान नेपालगन्ज, कोहलपुर लगायत स्थानमा र्याली प्रर्दशन गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्याली विपी चोक, धम्बोझी चोक, सेतु बिक चोक, न्युरोड, त्रिभुवन चोक हुदै पुनः नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो । आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैंगिक हिंसा निगरानी सञ्जाल नेपालगन्जका संयोजक केशव कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खाचो रहेकोमा जोड दिए ।
महिलाहरुले निर्वाह गरिरहेको दायित्वलाई अर्थपुर्ण रुपमा लिनुपर्ने अधिकांसको धारणा थियो । कार्यक्रमा प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै सचेत दिदि बहिनीहरुले प्रभावकारी भुमिका निभाउनुपर्ने बताइन् । महिला अधिकारका लागि आफूले पनि निरन्तर संघर्ष गरिरहेको बताउँदै उहाँले महिलाका नाममा विनियोजन हुने बजेटमा चासो दिन पनि आग्रह गरिन् ।
सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलबहादुर कार्की, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेपालगन्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य रुमिता श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य संगिता रेग्मी लगायतले बोलेका थिए ।
यसैबीच दिवसको अवसरमा बाँकेमा क्रियाशिल पत्रकारलाई सम्मान गरिएको छ । पत्रकार रुपा गहतराज र सावित्री गिरीलाई सम्मान गरिएको हो । यस्तै सामाजिक अभियान्ता शाहिदा बानोलाई पनि सम्मान गरिएको छ । सम्मानित पत्रकार तथा अभियन्ताहरुलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।