बाँके(राप्ती सोनारी) : दोस्रो गाउँपालिका स्तरिय उपाध्यक्ष कप, मिसन गोजुरियो कराते प्रतियोगिताको उपाधी लक्ष्मी माध्यामिक बिद्यालय मदुईले हात पारेको छ । राप्ती सोनारी गाउँपालिकाको अगैयामा सम्पन्न भएको उक्त प्रतियोगितामा लक्ष्मी माविले ७ स्वर्ण, ४ रजत र ६ वटा कास्य पदक हात पार्दै उपाधी जितेको हो ।
यस्तै उक्त प्रतियोगितामा दिपप्रकाश माध्यामिक बिद्यालयले ५ स्वर्ण, ४ रजत र ८ वटा काँस्य पदक हात पार्दै दोस्रो स्थानमा आएको छ । यसैगरी सरस्वती माध्यामिक बिद्यालय भवानीयापुरले ४ स्वर्ण, एक रजत र २ वटा कास्य पदक हात पार्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । राप्ती सोनारी गाउँपालिकाका खेल प्रशिक्षक प्रतापसिंह थारुले दिएको जानकारी अनुसार प्रतियोगितामा कुल १५ वटा बिद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा खेलाडीहरु बीच २० केजी, २५ केजी, २९ केजी, ३३ केजी, ४२ केजी, ४५ केजी, ५२ केजी, ५७ केजी र ६० केजी तौल समुहमा प्रतिस्पर्धा गराइएको थियो । उक्त प्रतियोगितामा २ सय ११ जना छात्र र ६० जना छात्राहरु सहभागी भएको राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदीले जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुना, खेलकुद विकास समितिका संयोजक सुवेदी लगायतले बोलेका थिए । उक्त प्रतियोगिता यही फागुन २२ गते सञ्चालनमा आएको थियो ।