कोहलपुर : बाँकेको कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी राईजिङ स्टार फुटबल क्लब नवलपरासीले हात पारेको छ । कोहलपुरमा शनिबार भएको फाइनल खेलमा नवलपरासीले कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।
कोहलपुर–२ स्थित तेह्र बिघा खेल मैदानमा सम्पन्न फाइनल खेलमा पहिलो हाफ बिना गोल सकिएको थियो । दोस्रो हाफमा खेलको ४५ औ मिनेटमा राईजिङ स्टार फुटबल क्लबनवलपरासीका कप्तान विनोद केवटले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । उनले पहिलो गोल गरेकोे दुई मिनेटमै खेलको ४७ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । केवटकै उत्कृष्ट खेल प्रदर्शनमा नवलपरासी उपाधि जित्न सफल भयो ।
विजेता राईजिङ स्टार फुटबल क्लबनवलपरासीका कप्तान विनोद केवट नै खेलको म्यान अफ द म्याच घोषित भए । कोहलपुर गोल्डकपमा पहिलोपटक फाइनल प्रवेश गरेको कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर भने घरेलु मैदानमा स्तब्ध बन्यो । राईजिङ स्टारले ट्रफीसहित नगद ८ लाख रूपैयाँ प्राप्त गरेको छ । विजेता नवलपरासीलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पुरस्कार प्रदान गरे ।
उपविजेतामा चित्त बुझाएको रेसिङ साहारा क्लब कोहलपुरले भने चार लाख रूपैयाँ प्राप्त गरेको छ । प्लेअर अफ द टुर्नामेन्ट (सर्वोउत्कृष्ट खेलाडी) को अवार्ड कोहलपुर रेसिङ साहारा क्लबका विनोद केसीले जिते । उनले ट्रफि सहित ५१ हजार रुपैयाँ प्राप्त गरे । राईजिङ स्टार फुटबल क्लब नवलपरासीका चेतन थारू वेष्ट डिफेन्डर हुँदै ट्रफीसहित दश हजार रूपैयाँ प्राप्त गरे ।
यसैगरी, राईजिङ स्टार फुटबल क्लब नवलपरासीकाका प्रतिक सुनारले नगद् हजारसहित उत्कृष्ट गोलकिपरको उपाधि जितेका थिए । राईजिङ स्टार फुटबल क्लब नवलपरासीकै सन्दिप केसीले उत्कृष्ट प्रशिक्षक उपाधि जिते हुन् । राईजिङ स्टार फुटबल क्लब नवलपरासी विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विक सर्वाधिक गोलकर्ता हुँदै नगद पाँच–पाँच हजार प्राप्त गरे ।
उनीहरुले प्रतियोगिता अवधिभर सबैभन्दा धेरै २–२ गोल गरेका थिए । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा फागुन १७ गतेदेखि सुरू भएको प्रतियोगितामा घाना र भारतका सहित ८ टिमको सहभागिता रहेको थियो ।