बाँके (बैजनाथ) : नमुना समाज विकास केन्द्रले बाँकेको बैजनाथ गाउँपालिकामा आफ्नै भवन निर्माण गर्ने भएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा निर्माण गर्न लागिएको उक्त भवनको सोमबार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले शिलान्यास गरेका छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुने उक्त भवन शिलान्यास गर्दै मन्त्री तिमिल्सेनाले विकास निर्माणका काम क्रमिक रुपमा हुदै जाने बताए । जनप्रतिनिधिको दायित्व नै विकास गर्ने भएको बताउँदै उनले जनताको सेवक भएपछि जनप्रतिनिधीले जनताको पक्षमा काम गर्नुपर्ने धारणा राखे ।
प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधार गर्ने रणनीति बनाएको जानकारी दिदै मन्त्री तिमिल्सेनाले गरिब तथा विपन्न वर्गका छोरा छोरीले पढ्ने सामुदायिक बिद्यालयलाई ब्यवस्थित गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले सामाजिक विकासमा संघ, संस्थाको योगदान महत्वपूर्ण रहने बताए । सामाजिक काम गर्ने संस्थालाई सरकारले उचित मुल्यांकन गर्न आवश्यक रहेको उनको भनाई छ ।
आर्थिक, सामाजिक क्षेत्रमा नमुना समाज विकास केन्द्रले गरेको काम महत्वपूर्ण रहेको अध्यक्ष शाहीले जोड दिए । यस्तै नमुना समाज विकास केन्द्रका अध्यक्ष टिकाराम रिजालले वर्षौदेखी भाडाको घरबाट कार्यालय सञ्चालन हुदै आएकोमा संस्थाले अब आफ्नै भवन पाउने बताए । संस्थाले विगत लामो समयदेखी ग्रामिण क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको उनले जानकारी दिए ।
बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष देवबहादुर रावतले नमुना समाज विकास केन्द्र पछिल्लो समयमा सक्रिय सामाजिक संस्थाको रुपमा चिनिएको बताए ।

संस्थाकी कोषाध्यक्ष प्रतिमा चौधरीले स्वागत गरेको उक्त कार्यक्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष निखिल बैगार, वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा नम्बर ६ का वडाअध्यक्ष भुपाल पुन मगर, वडा नम्बर ८ का वडाअध्यक्ष भगन थारु, नेपाली कांग्रेस बैजनाथका सभापति देवबहादुर केसी, नेकपा एमाले बैजनाथका अध्यक्ष मनबहादुर खत्री, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख उद्धव श्रेष्ठ, विभिन्न समाजसेवी, संघ, संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


