बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाले आफ्नो ८ औं स्थापना दिवस मंगलबार भब्यताका साथ मनाएको छ । २०७३ फागुन २७ गते गाउँपालिकाको स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा गाउँपालिका कार्यालय अगैयामा विशेष कार्यक्रम आयोजना गरि मनाईएको हो ।
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथी एवम जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले गाउँ गाउँमा सिंह दरबार आएको दिनलाई कसैले बिर्सन नहुने बताए । गाउँका सिंहदरबारबाट जनताले गाउँमै सहज र सरल रुपले सेवा पाएको महसुस गरिरहेको विश्वास ब्यक्त गरे ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले संघियता लागू भएपछि जनप्रतिनधि र कर्मचारी एउटै डुंगामा बसेर जनताको सेवा गरिरहेको उल्लेख गरे । जनप्रतिनिधि कर्मचारीका अभिभावकको रुपमा रहेको र कर्मचारीले तन मनका साथ राष्ट्रसेवकको भूमिका निर्वाह गरेमा स्थानीय सरकार सफलहुने उनको धारणा थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उत्कृष्ट काम गरेकै कारण राप्ती सोनारी गाउँपालिका आफ्नो कार्यसम्पादनमा जिल्लाकै पहिलो भएको बताए । गाउँपालिका स्थानीय स्रोत, साधनमा धनी भएपनि पछिल्लो समय नदीजन्य पदार्थ ब्यवस्थापन सबैभन्दा चुनौतीको विषय बनिरहेको बताए ।

गाउँपालिकाको सिमा विवाद र नदिजन्य पदार्थ ब्यवस्थापनमा जिल्लाका सम्पूर्ण सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उनको भनाई थियो । राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु र राप्ती सोनारी-३ का वडाअध्यक्ष मिनकुमार थारुले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले सोही कार्यक्रममा सफल महिला उद्यमी, युवा उद्यमी, ब्यवसायी, समाजसेवी, बरघर, उत्कृष्ट शिक्षक, कर्मचारी तथा अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, महिला स्वास्थ्य स्वयं सेविका, सहकारी संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
हेर्नुस् भिडियो रिपोर्ट :