नेपालगन्ज : बहुप्रतिक्षित चलचित्रका रुपमा रहेको फिल्म ‘द्रौपदी’ आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनको तयारीमा रहेको ‘द्रौपदी’ले यतिबेला देशब्यापी प्रवद्र्धन अभियानलाई तिव्रता दिएकोछ । नेपाली ग्रामीण बस्तीको कथा भएको र ग्रामीण समुदायले भोग्नु परेका अफ्ठाराहरुलाई ‘द्रौपदी’मा चित्रण गरिएको छ । फिल्मका सबै नयाँ कलाकार हुन् ।
पश्चिम नेपालको हबका रुपमा रहेको नेपालगन्जमा बिहीबार आएको ‘द्रौपदी’को टिमले चलचित्रका विषयमा पत्रकारमाझ जानकारी गराउँदै प्रचार–प्रसार समेत गरेकोछ । यसअघि गत शुक्रबार चलचित्र ‘द्रौपदी’को ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रले कर्णालीको कथा उजागर गर्ने ट्रेलरले संकेत गरेको छ । महिला संबेदनामा बनेको देखिने चलचित्रले एक अर्गानिक अनि गम्भीर बिषय उठाएको संकेत दिएको छ ।
चलचित्रमा कर्णाली प्रदेशकै विकट क्षेत्रमध्ये एक डोल्पाको शे–फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरूमा छायांकन गरिएकोछ । ऋषिराज आचार्य लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र पीडा देख्न सकिन्छ । यसअघि चलचित्रको टिजर र ‘कर्णाली कटौला’ गीत सार्वजनिक भएको भइसकेको छ । यतिबेला यूट्युबमा खुबै रुचाइएको उक्त गीत भाइरल समेत बनिरहेकोछ । ‘द्रौपद्री यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो ।’
निर्देशक ऋषिराज आचार्यले भने– ‘सामाजिक कथामा निर्माण भएको ‘द्रौपदी’ केही अन्तर्राष्ट्रिय महोत्सवमा पनि छनोट भएको छ ।’ उनले भने– यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।’ चलचित्रले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक र नयाँ रहेको निर्देशक आचार्यले बताए ।
चलचित्रमा ऋषिराज आचार्य, आश्विनी शाही, टिभी रियालिटी शो ‘नेपाल आइडल’का विजेता रवि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवालीलगायत कलाकारको अभिनय छ । चलचित्रमा अनिल महर्जनको सम्पादन, सौरभ शर्माको पाश्र्व संगीत तथा मोहनकुमार झिल्लुको छायांकन रहेको छ ।
आरबी मुभिजको व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् । सह–निर्माता ऋतु आचार्य र बिष्णु ठडराई छन् । चलचित्र एप्पल इन्टरटेन्टमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरण गर्नेछन् । चलचित्रको प्रचारप्रसारका लागि नेपालगन्जमा पत्रकार सम्मेलन गरेको टिम यसपछि पोखरा, चितवन लगायतका ठाउँमा पत्रकार सम्मेलन गर्दै फिल्मबारे जानकारी दिइने निर्देशक आचार्यले जानकारी दिए ।
चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा ‘द्रौपदी’ चलचित्रका निर्देशक ऋषिराज आचार्य, कलाकारहरु आश्विनी शाही, रवि ओड, सुजाता तिमिल्सिना र प्रकाश ज्ञवालीको उपस्थिती रहेको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले ‘द्रौपदी’ चलचित्रका टिमलाई स्वागतसंगै चलचित्रको प्रचारप्रसार तथा सफलताको शुभकामना दिएका थिए । पत्रकार सम्मेलन लगत्तै टिमले नेपालगन्जमा रहेको बागेश्वरी क्यूएफएक्स सिनेमा घर र सिने रोयल सिनेमा घरमा समेत प्रचार–प्रसार गरेको चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।