नेपालगन्ज : नेपालगन्जमा शनिबार बिहान प्रातःकालीन हिँडाइ(वाकाथन) गरिएको छ । नेपाल चिकित्सक भेरी शाखाको आयोजनामा वाकाथन गरिएको हो ।
वाकाथनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल पनि सहभागी भए । नेपालगन्जको गणेशमान चोकबाट सुरु भएको वाकाथन वीपी चोक, बीरेन्द्र (धम्बोझी) चोक हुदै पुनः गणेशमान चोकमा पुगेर समापन भएको थियो ।
वाकाथनमा सांसद, सुरक्षा निकायका प्रमुख, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मी, धर्मगुरु, खेलाडी, पत्रकार, अपांगता भएका ब्यक्तीहरु, विद्यार्थी, सर्बसाधारण लगायत सहभागी थिए । नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रुपानन्द अधिकारीले शरीरलाई तन्दुरुस्त बनाईराख्न दैनिक रुपमा हिड्नुपर्ने भएको हुँदा यस्तो कार्यक्रम राखिएको बताए ।
कार्यक्रम संयोजक एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीले स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगन्जका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्ने र आम नेपाली दाजुभाई, दिदीबहिनीलाई एकताको मालामा गास्ने उद्देश्यका साथ स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ भन्ने मुल नारासहित वाकाथन गरिएको बताए । यसअघि डा. खत्रीको संयोजनमा दाङमा पनि वाकाथन भईसकेको छ ।