नेपालगन्ज : नेपालगन्जको चारलेन सडक अन्तर्गत सुर्खेतरोडको ग्रिनबेल्टमा ढकमक्क फुलेका फुलले यतिबेला सबैको ध्यान तानेको छ । फुलका दृश्य र भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेका छन् । यहाँ फोटो खिच्ने सर्बसाधारणको दैनिक रुपमा ठुलो भिड नै लाग्ने गरेको छ ।
चारलेन सडक बिस्तार भएपछि उक्त ग्रिनबेल्टमा ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ का संयोजक डा. बिनोद कर्णको अगुवाईमा अभियन्ताहरुले २०७२/७३ सालतिर ‘बकमबेली’ लगायत विभिन्न प्रजातिका फुलका बिरुवा रोपेका थिए । डा. कर्णका अनुसार पहिलो चरणमा चारलेन सडकको कारकाँदो चोकदेखी प्रहरी ब्यायामशाला सम्म, दोस्रो चरणमा विपी चोकदेखी गणेशमान चोक हुँदै वन कार्यालय सम्म र तेस्रो चरणमा विपी चोकदेखी बायुसेवा निगम कार्यालयसम्म रोपिएको थियो ।
हेर्नुस् भिडियो :
बायुसेवा निगमदेखी धम्बोझी चोकसम्म लायन्स क्लबले र धम्बोझी चोकदेखी प्रहरी ब्यायामशालासम्म ब्यवसायीहरुले बिरुवा रोपेर अभियानलाई साथ दिए । त्यसपछि थप स्थानमा होटेल, ब्यापारिक प्रतिष्ठान तथा सामाजिक संस्थाले रोपेका थिए ।
तत्कालिन समयमा भर्खरै निर्माण सम्पन्न भएको चारलेन सडकको बीचमा अभियन्ताले बिरुवा रोप्दा हुर्काउन सम्भव नभएको भन्दै धेरैले ब्यंग्य समेत गरे । अभियन्ताहरुलाई नेपालगन्जका छाडा चौपायाबाट ग्रिन बेल्टका बिरुवा जोगाउन कम्ति चुनौती थिएन । ‘हामीहरुले पालैपालो बिरुवामा पानी सिंचाई गर्ने र चौपाया धपाउने काम पनि गर्यौंं,’ डा. कर्णले भने ‘त्यो बेलामा स्थानीय निकायले गर्नुपर्ने काम हामीले गर्दा पनि त्यति सहयोग पाएनौं ।’

अभियन्ताहरुका अनुसार चारलेन सडकको ग्रिनबेल्टमा रोपिएका फुलका बिरुवालाई २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आईसकेपछि पनि उपमहानगरपालिका कार्यालयले उखेलेर आफ्नै तरिकाले बिरुवा रोपेको थियो, जुन बिरुवा ग्रिनबेल्टका लागि उपयुक्त नै थिएनन् । उपमहानगरपालिका कार्यालयदेखी शिक्षा अस्पताल अगाडीको ग्रिनबेल्टमा अभियन्ताले रोपेका ‘बकमबेली’ का बिरुवा उखेलेर उपमहानगरपालिकाले अशोकको विरुवा रोपेको थियो ।
यस्तै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नजिक र पुष्पलाल चोक नजिक रोपिएका फुलका बिरुवा उखेलेर उपमहानगरपालिकाले ‘समी’को बिरुवा रोपेको अभियन्ता कर्ण सम्झिन्छन् । डा. कर्णको टिमले सुरु गरेको बिरुवा रोप्ने अभियानमा पछि भने बिस्तारै उपमहानगरपालिका कार्यालयसँगै निजी तथा सामाजिक क्षेत्र पनि जोडिए । अहिले चारलेन सडकको ग्रिनबेल्टमा अधिकांस स्थानमा बिरुवा हुर्किसकेका छन् । केही ठाउँमा बिरुवा मरेका पनि छन् ।

ति ठाउँमा पुनः रोप्नुपर्ने देखिन्छ । ‘हामीले रोपेका बकमबेली फुलका बिरुवाहरु उखेलेर उपमहानगरपालिकाले त्यतिबेला आफ्नो तरिकाले अशोक र समीको बिरुवा रोप्यो, त्यो ठाउँमा फुलहरु हुर्किन पाएको भए अहिले झन् कति सुन्दर देखिन्थ्यो होला,’ डा. कर्ण भन्छन् । धेरै मेहेनत गरेर रोपेका फुलहरु अहिले भाईरल हुँदा मन आनन्दित भइरहेको उनले सुनाए । केही ठाउँको मात्रै फुलले पनि अहिले नेपालगन्ज उपमहानगरलाई सुन्दर बनाएको उनी बताउँछन् ।
‘भाईरल फुलले गर्दा अहिले नेपालगन्ज शहरको चर्चा चलेको छ, अब नेपालगन्ज न्यूरोडको ग्रिनबेल्ट र चारलेन सडकको फुटपातमा पनि फुल रोपेर सुन्दरता कायम गर्नुपर्छ,’ कर्णले भने ‘यो काममा अभियन्ता मात्रै लागेर हुदैन, उपमहानगरपालिकाले नेतृत्व लिनुपर्छ ।’ हरित अभियन्ता हेमन्तराज काफ्ले विगतमा रोपेका बिरुवा हुर्केर अहिले शहर सुन्दर बनेको देख्दा खुसी छन् । ‘त्यतिबेला हामीले धेरै बिरुवा रोपेका थियौं, धेरै ठाउँमा बकमबेलीका बोटहरु मरे, अझै केही ठाउँमा रोप्नुपर्नेछ,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले चारलेन सडकको ग्रिनबेल्टमा हुर्किएका फुल तथा रुख बिरुवाको संरक्षणमा उपमहानगरपालिकाले विशेष ध्यान पुर्याएको बताएका छन् । उपमहानगरपालिकाले ग्रिनबेल्टमा तारबारको ब्यवस्थापनसँगै समय–समयमा पानी सिंचाई गर्दै आएको उनको भनाई छ । बोट, बिरुवा संरक्षणका लागि ट्री-गार्ड र रेलिङ लगाइएको मेयर बिष्टको सचिवालयले जनाएको छ ।






