बाँके(फत्तेपुर) : आधारभुत स्वास्थ्य सेवा केन्द्र राप्ती सोनारी-६ कमैया डाँडाले प्रदान गर्ने सेवाको मुल्यांकन गरिएको छ । केयर नेपाल, आईडी नेपाल र म्याप इन्टरनेशनलको संयुक्त साझेदारीमा बी.ग्रुपले पोषण परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजना अन्तरगत राप्ती सोनारीको वडा नम्बर १ र ६ मा कार्यक्रम सञ्चालनमा छ ।
कार्यक्रम अन्तरगत राप्ती सोनारी-१ मा १३ र राप्ती सोनारी-६ मा १२ वटा आमा समुह गठन गरिएको छ । उक्त समुहमा ५ सय जना आमाहरु आवद्ध रहेको बताइएको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्र र बी. ग्रुपको संयुक्त आयोजनामा मुल्यांकन गर्न आम भेला गरिएको हो । सो क्रममा सेवाग्राही, सेवा प्रदायक र स्वास्थ्य संस्था सञ्चालन/ब्यवस्थापन समिति लगायतको उपस्थिती रहेको ग्रुपको पोषण परियोजना जेसी अफिसर रामकुमारी चौधरीले बताइन् ।
भेलामा उपस्थित सेवाग्राहीलाई आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट हुने गर्भ जाँच, संस्थागत प्रसुती तथा सुत्केरी सेवा, २ वर्ष मुनिको बच्चाहरुको पोषण अवस्था नियमित अनुगमन र पोषण स्थिति, लैंगिक तथा साामजिक समावेशिकरणको अवस्था, खाद्य विविधिकरण, स्वच्छता तथा सरसफाई, महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम तथा सहयोगको अवस्था र स्वास्थ्य सुशासन तथा स्थानीय सरोकारवालाहरुको सहयोगको अवस्थाका बारेमा प्रश्न सोधिएको थियो । केन्द्रले समग्रमा ८१ प्रतिशत अंक प्राप्त गरेको छ ।
सोही आधारमा सेवाग्राहीले स्वास्थ्य केन्द्रलाई मुल्यांकन स्वरुप अंक दिएका थिए । उक्त भेलामा राप्ती सोनारी-६ का वडाअध्यक्ष लवराज खरेल, वडा तहका जनप्रतिनिधि, सेवाग्राही, आमाहरु, आधारभुत स्वास्थ्य सेवा केन्द्रका कर्मचारी, राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी, बरघर, राजनीतिक दलका प्रतिनिधि, बी.ग्रुपका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
