नेपालगन्ज : नेपालगन्ज कोरियनपुरकी मनिषा केसी केही समयदेखी रोजगारीको पर्खाईमा छिन् । स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा पढ्ने उनी ‘पार्ट टाईम’ रोजगारी मिल्ने बित्तिकै काम गर्न तयार छिन् । रोजगारी खोजिरहेका बेला मनिषालाई अहिले ‘ढुंगा खोज्दा देउता मिलेझै’ भयो ।
मेलाको स्टलमा पुगेर उनले आफ्नो शैक्षिक योग्यतासहितको विवरण बुझाएकी छन् । रोजगार मेलाबाट आफुले खोजेको जस्तो रोजागारी मिल्ने उनको विश्वास छ । ‘मैले चार/पाँच ठाउँमा फाराम भरेर बुझाएँ,’ राम्रो मार्केटिङ र होटल लाईनमा काम गर्न खोजेकी हुँ,’ उनले भनिन् ‘बिद्यार्थी जीवन त सबैभन्दा गरिव जीवन हो, पार्ट टाइमको जब मिल्यो भने धेरै राहत मिल्थ्यो ।’ रोजगार मेलामा मनिषा जस्ता थुप्रै बेरोजगार युवा युवती तथा अन्य सर्बसाधारण नागरिक पुगेका छन् । नेपालगन्जमा शुक्रबारदेखी सञ्चालनमा आएको रोजगार मेला शनिबार(आज) पनि जारी छ ।
हेर्नुस् भिडियो रिपोर्ट :
मेलामा विशेषगरी बेरोजगार ब्यक्तीहरुको आकर्षण देखिएको छ । उक्त मेलामा दोस्रो दिन शनिबार समुह छलफल चलिरहेको संघका प्रथम उपाध्यक्ष चिरञ्जिवी ओलीले जानकारी दिए । ‘मेला आज पनि चलिरहेको छ, रोजगारीका लागि आवेदन दिनेहरुको भिड छ,’ उनले भने । मेलाबाट रोजागारी पाउने अधिकांसको अपेक्षा छ । रोजगार प्रदायक होटल तथा उद्योग, ब्यवसायिक प्रतिष्ठानले रोजगारीका लागि उनीहरुको आवेदन लिइरहेका छन् । बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा नेपालगन्ज उद्योग वाणिज्य संघले उक्त मेला सञ्चालनमा ल्याएको हो ।
मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने संघको विश्वास छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी मेलाबाट रोजगारदाता र बेरोजगार ब्यक्तीलाई यसबाट ठुलो लाभ मिल्ने विश्वासमा छन् । ‘हामीलाई मेनपावर चाहिएको छ भनेर रोजगार प्रदायकहरु आएका छन्, हामी बेरोजगार भयौं, रोजगारी चाहियो भनेर बेरोजगार ब्यक्तीहरु पनि आएको अवस्था छ,’ उनले भने ‘रोजगारी पाउने र रोजगारी दिने दुबै पक्षलाई एकै ठाउँमा राखेर हामीले मध्यस्थकर्ताको काम गरेका हौं ।’
मेला अवधिमा मात्र कम्तिमा एक सय जनाले रोजगार पाउने संघले अपेक्षा गरेको छ । औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिइनेछ । मेलामा तालिम प्रदायक सरकारी तथा गैरसरकारी निकायप्रति पनि बेरोजगार ब्यक्तीको आर्कषण रहेको पाइएको छ । मेलामा बाँकेका ग्रामिण क्षेत्रबाट समेत रोजगारी माग्न बृद्ध, बृद्धाहरु समेत आएका छन् ।
उक्त मेलामा विभिन्न प्रकारका ४० वटा स्टल राखिएको छ । रोजगारीको अवसरका लागि मेला महत्वपूर्ण माध्यम बनेको स्थानीय तहका रोजगार संयोजक बताउँछन् । ‘बेरोजगारलाई लक्षित गरेर यो प्लेटफमको विकास गरेका हौं,’ कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष वर्मा भन्छन् ‘युवालाई सिकाईसँगै दक्षता, सिप कला, अनुभवका आधारमा विभिन्न उद्योगसँग जोडिने मेलाबाट अवसर प्राप्त पनि हुन्छ ।’ मेलाबाट धेरै भन्दा धेरै युवाहरु लाभाम्वित हुने उनको विश्वास छ ।
नरैनापुर गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरी स्थानीय तहमा सूचीकृत रहेका बेरोजगार ब्यक्तीलाई रोजगारी दिलाउनु मेलाको मुख्य उद्देश्य रहेको बताउँछन् । ‘यो मेला बाँकेमा पहिलो पटक सञ्चालन भएको हुँदा महत्वपूर्ण पनि छ, यसबाट धेरैले लाभ लिनुहुनेछ भन्नेमा हाम्रो अपेक्षा छ ।’
बाँकेका अधिकांस उद्योगीले भारतीय कामदारमार्फत आफ्ना उद्योग चलाईरहेका छन् । तर, नेपाली कामदारहरु भने कामका लागि भन्दै वर्षेनी भारत लगायत विभिन्न देशमा गइरहेको देखिन्छ । यस्तो अवस्थामा बाँकेमा पहिलो पटक सञ्चालन भएको रोजगार मेलाले रोजगारदाता र कामदारलाई जोड्ने काम गर्ने जयमंगलम् सिमेन्ट्स प्रा.लि.बाँकेका प्रमुख संजय अग्रवाल बताउँछन् ।
‘रोजगारदाताले कामदार नपाउने र कामदारले रोजगार नपाउने अवस्था थियो, जनशक्ती नपाउँदा भारतीय कामदार समेत राख्नुपर्ने बाध्यता छ, हामीले दक्ष कामदार पाउन मुस्किल भइरहेका बेला यो मेलाले मध्यस्थताको काम गर्छ,’ उनले नागरिकसँग भने ‘उद्योग चलाउँदाखेरी हामीलाई दक्ष र अदक्ष मान्छे चाहिन्छ, दक्ष जनशक्ती आफ्नै देशमा पाइएपछि भारतीय कामदार ल्याउन हामीलाई बाध्यता हुदैन, स्वदेशी जनशक्ती भएपछि सहज हुन्छ ।’
यो पनि पढ्नुस् :
नेपालगन्जमा रोजगार मेला सुरु : रोजगारीमा सबैको चासो
बाँकेमा भोलिदेखी लाग्दै रोजगार मेला