नेपालगन्ज : राजावादीको आन्दोलनका क्रममा पत्रकारको हत्या, कुटपिट, दुर्व्यवहार तथा सञ्चार गृहमा गरिएको आगजनी, तोडफोड र ढुंगा मुढा विरुद्ध बाँकेमा श्रद्धाञ्जली तथा बिरोध सभा गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा शनिबार बेलुका सभा गरिएको हो ।
सभालाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनीहरुले लोकतन्त्रमा मात्रै पूर्ण प्रेस स्वतन्त्रताको अनुभुती गर्न पाइने बताए । लोकतन्त्र नरहे प्रेस स्वतन्त्रता पनि नरहने बक्ताहरुको भनाई छ ।
पुर्वराजा ज्ञानेन्द्र शाहले सञ्चार माध्यमलाई कब्जामा लिएर विगतमा प्रेस स्वतन्त्रतामाथी कुण्ठित गरेको स्मरण गर्दै बक्ताहरुले आन्दोलनका नाममा अहिले अराजकता मच्चाउने, पत्रकारको हत्या, सञ्चारकर्मीमाथी कुटपिट तथा सञ्चार माध्यममाथीको तोडफोड स्वीकार्य नहुने चेतावनी दिए ।
श्रद्धाञ्जली तथा बिरोध सभामा पत्रकार महासं बाँकेका पुर्वअध्यक्ष निरज गौतम, प्रेम केसी, झलक गैरे, रुद्र सुवेदीसहित विभिन्न सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरु, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । सभाको सञ्चालन पत्रकार महासंघ बाँकेका सह–सचिव भगतराम थारुले गरेका थिए ।
पूर्वराजा समर्थकको आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा पत्रकार महासंघको अगुवाईमा देशभरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले पनि शनिबार बिहान काठमाडौंमा श्रद्धाञ्जली सभा तथा बिरोध सभा गरेको थियो ।
तस्बिरहरु : भगतराम थारु





