नेपालगन्ज : राजावादीको आन्दोलनका क्रममा पत्रकारको हत्या, कुटपिट, दुर्व्यवहार तथा सञ्चार गृहमा गरिएको आगजनी, तोडफोड र ढुंगामुढा विरुद्ध आन्दोलित बनेका पत्रकारहरु आइतबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आब्हानमा देशभरका पत्रकार आन्दोलित भइरहेका बेला बाँकेमा क्रियाशिल पत्रकारहरुले पनि बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेका हुन् । पत्रकार महासंघ बाँकेको कार्यालयमा बिहान उपस्थित भएर कालोपट्टी बाँधेका पत्रकारहरु कार्यक्षेत्रमा खटिएका छन् ।
उनीहरुले आइतबार दिनभर हातमा कालोपट्टी बाँधेर समाचार संकलन गर्नेछन् । पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको केन्द्रिय सर्कुलर अनुसार बाँकेमा पनि बिरोध स्वरुप हातमा कालोपट्टी बाँधिएको बताए । ‘पत्रकारको हत्या, कुटपिट, आगजनी र सञ्चार माध्यममाथीको आक्रमण विरुद्ध हामी आन्दोलित छौं, आन्दोलन कार्यक्रम अन्तरगत आज बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेका हौं,’ उनले भने ।
यसअघि शनिबार बेलुका महासंघको आयोजनामा श्रद्धाञ्जली तथा बिरोध सभा गरिएको थियो । स्थानीय विपी चोकमा आयोजित सभालाई सम्बोधन गर्ने बक्ताले लोकतन्त्रमा मात्रै पूर्ण प्रेस स्वतन्त्रताको अनुभुति गर्न पाइने बताए । पूर्वराजा समर्थक आन्दोलनका क्रममा काठमाडौंको तिनकुनेमा एभिन्युज टिभीमा कार्यरत फोटो पत्रकार सुरेश रजकको हत्या गरिएको थियो ।
आन्दोलनकारीले आगजनी गरेको एक घरभित्र डढेंको अवस्थामा पत्रकार रजकको शव फेला परेको थियो । आन्दोलनकारीले थुप्रै पत्रकारलाई कुटपिट गरेका थिए, भने कान्तिपुर टिभी र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढासँगै आगजनीको प्रयास गरेका थिए । उक्त घटनाको विरोधमा पत्रकार महासंघको अगुवाईमा देशभरका पत्रकार आन्दोलित भएका छन् ।