नेपालगन्ज : वीपी न राजावादी थिए, न मार्क्सवाद । राजनीतिमा उनी प्रजातान्त्रिक समाजवादी थिए । साहित्यमा उनकै भाषामा अराजकतावादी । वीपीलाई राजावादी मान्ने हो भने, कुन अर्थमा राजावादी थिए भने, उनी त्रिभुवन, महेन्द्र, बीरेन्द्र, ज्ञानेन्द्र जस्ता सक्रिय राजतन्त्र होइन, कहिल्यै गल्ती नगर्ने बेलायतको जस्तो संवैधानिक राजतन्त्र चाहन्थे ।
उनी स्पष्ट थिए, जनताका सुख दुःख मुलुकको कार्यकारी र निर्वाचित प्रधानमन्त्रीले हेर्छ, दोष पाए उसैले पाउँछ, राजा त खोपीका देउता भएर बस्ने हो । उनको यस्तो विचारलाई राजा महेन्द्र र वीरेन्द्रले कुठाराघात गरे । त्यसैले गणतन्त्रको आधार महेन्द्रले २०१७ साल पुस १ गते नै बनाइसकेका थिए, २०६५ जेठ १५ गते त नेपाली नागरिकले त्यसलाई हिम्मतसाथ कार्यान्वयन गरेका हुन् ।
जेल डायरीमा वीपीले सक्रिय लेनिनको भनाइ उद्धृत गर्दै राजतन्त्रलाई तानाशाहीको संज्ञा दिएका छन, ‘तानाशाही सत्ता त्यो हो जसले बलपूर्वक असिमित शक्ति सञ्चयन गरेको हुन्छ र जसलाई कुनै चिजले वा कुनै कानूनले नियन्त्रित गर्दैन । यसको उदाहरण २०८१ चैत्र १५ गते पुर्बराजाको पुरानै रबैया ।
वीपी कोइरालालाई प्रधानमन्त्री पदको शपथ खुवाउँदै राजा महेन्द्र
डायरीमा वीपीले महेन्द्रलाई मात्र होइन पृथ्वीनारायण शाहलाई समेत कडा टिप्पणी गरेका थिए । ‘महेन्द्र फेरि एक पटक पृथ्वीनारायण शाह बनेका छन्- रैथाने शासक नभएर एउटा बाहिरी आक्रमणकर्ता ।’ चिहानबाट मुर्दा लाश उठाउन खोज्ने । बिदा भइसकेको राजतन्त्र फर्काउने स्वर उठिरहेका बेला ‘राजा आऊ, देश बचाऊ’ भन्दै कुदिरहेकाहरूलाई आमनागरिकले सोध्न चहान्छन । किन फर्काउने राजतन्त्र? कसलाई राजा बनाउन फर्काउने ?
उनीहरूको आरोप छ- राजा नभएर राष्ट्रियता कमजोर भयो रे, देश नै नरहने भयो रे, एक जना राजा भए पुग्नेमा धेरै राजा भए रे, भ्रष्टाचार बढ्यो रे, राजावादीहरू गणतन्त्र पक्षधरलाई यस्तै आरोप लगाएर पुर्बराजा ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउन चाहन्छन् । ज्ञानेन्द्र पनि यिनले राजगद्धीमा विराजमान गराइदिन्छन् भनेर नेपालगन्ज, भारतको लखनउ हुँदै पोखराबाट काठमाडौ निर्मल निवासभित्र रैती हरुसँग बसेर योजना बनाए ।
लोकतन्त्रमा विश्वास गर्ने नेताहरुबाट पटक-पटक सार्बजनिक रूपमा अब्हान गरिएको छ । राजा हुन चाहेको भए गणतन्त्र छ, मिल्दैन । आफूलाई नियन्त्रणमा राख्नुस् । दल खोलेर चुनाव उठ्ने इच्छा हो भने स्वागत छ । किनकी आमनेपाली नागरिक सरह नै ज्ञानेन्द्रले पनि दल खोल्न वा पुरानै दलहरूबाट चुनाव उठ्न पाउँछन् ।
कसलाई चाहिएको छ राजतन्त्र ? हिजो त्यही संस्थाको वरिपरी रहेर हुर्के, बढेका बाबुआमा सित दरबारमा टीका थाप्नेहरूलाई चाहिएको होला । आजका तन्नेरी पुस्ता राजाको जेठो छोरा राजा हुने (छोरी पनि होइन) परम्परामा टिकेको राजतन्त्र किमार्थ चाहँदैन । किनकी व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्र अपरिहार्य छ भन्नेमा युवा पुस्ता सचेत देखिन्छ । सबैसित औंला ठड्याएर प्रश्न गर्ने तन्नेरी पुस्ता प्रश्न सोध्न त के बोल्न पनि नपाउने राजतन्त्रको पक्षमा छ भनेर कल्पना समेत गर्न सकिंदैन ।
‘अहिले धेरै जना राजा भए’ भन्ने टिप्पणी लोकतान्त्रिक शासन व्यवस्था र संरचना नरुचाउनेहरूको फोस्रो आरोप मात्र हो । यहाँ राजाहरू छैनन, जनताका प्रतिनिधि मात्र छन । लोकतान्त्रिक प्रणालीमा यसै अनुसार खडा भएका संस्था र संरचनाहरू हुन्छन् । आवधिक चुनावबाट सरकार बन्छ । पाँच वर्षका लागि संसद्बाट चुनिएका राष्ट्रपति छन ।
मधेशबाट एक जना यादवको छोरो (डा. रामवरण यादव) र भोजपुरमा जन्मेकी महिला (विद्या भण्डारी) तनहुँका एक जना बृद्ध लोकतन्त्रमा लामो संघर्ष गरेका (रामचन्द्र पौडेल) राष्ट्र प्रमुख बन्न सक्नु लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकै देन हो । हो, अहिले विकृति र समस्या नदेखिएको होइन् । भ्रष्टहरू छन् भने तिनलाई कानूनले पाता कस्ने हो, गणतन्त्र नै उल्टाएर राजतन्त्र ब्युँताउने होइन । राजतन्त्र विना नेपाल रहँदैन भन्नेहरूले बुझुन् । के अहिले नेपाल भन्ने देश छैन ? राजा नभए पनि देश हामी सितै छ, रहि रहन्छ । जय नेपाल !