बाँके (चिसापानी : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा रहेको रारा माध्यामिक बिद्यालयको मुहार नै फेरिएको छ । शौभाग्य शाह फाउण्डेशनले बिद्यालय भवन रंगरोगनसँगै जस्तापाता फेरिदिएपछि बिद्यालयको मुहार फेरिएको हो । जुम्लामा जन्मेका शैक्षिक क्षेत्रका अग्रणी ब्यक्तित्व डा. शौभाग्य शाहको १५ वर्षअघि हृदयघातबाट निधन भएको थियो ।
स्वर्गिय डा. शाहको सम्झनामा परिवारले स्थापना गरेको फाउण्डेशनले सामाजिक कार्य अन्तरगत बिद्यालयलाई करिव १३ लाख रुपैयाँ बराबरको भौतिक पुर्वाधार तथा खेल सामाग्री सहयोग गरेको छ । फाउण्डेशनका अध्यक्ष अनुप विक्रम शाहका अनुसार बर्खायाममा पानी चुहिएर पढ्न नमिल्ने अवस्थामा पुगेको बिद्यालयको ३ वटा भवनमा जस्तापाता फेर्नुका साथै भवनहरु रंगरोगन गरिएको हो । रंगरोगनले गर्दा यतिबेला बिद्यालय भवन तथा मुलगेट आर्कषक देखिएका छन् ।
‘रारा माध्यामिक बिद्यालयको भवन भएपनि बर्खामा पानी चुहिएर पढ्नै मल्ने अवस्था थियो, तीन वटा भवनमा जस्तासहित सम्पूर्ण बिद्यालय रंगरोगन गरेर बच्चालाई पानी चुहिनबाट बचाउने काम गरेका छौं, यस्तै भलिबल र टेबल टेनिस कोर्ड तथा खेल सामाग्री पनि सहयोग गरेका छौं,’ उनले भने ‘हाम्रो परिवारले दाईको सम्झनामा शौभाग्य शाह फाउण्डेशन स्थापना गरेर सामाजिक, स्वास्थ्य, वातावरण र शिक्षा क्षेत्रमा काम गर्दै आएका छौं ।’

फाउण्डेशनले यसअघि बाँकेको बैजनाथ-१ मै रहेको सुर्योदय मावि चिसापानीमा पनि कम्प्युटर, ल्यापटप, बासकेटबल र भलिबल कोर्ट, शुद्ध खानेपानी ब्यवस्था, खेलकुद सामाग्री लगायत गरी करिव १५ लाख रुपैयाँ बराबरको सहयोग गरेको अध्यक्ष शाहले सुनाए । उनका अनुसार फाउण्डेशनले विभिन्न जिल्लामा गरेर करिव एक दर्जन बिद्यालयमा भौतिक पुर्वाधारसहित शैक्षिक र खेलकुद क्षेत्रमा सहयोग गरेको छ । फाउण्डेशनले स्वर्गिय डा. शाहले यसअघि प्रकाशन गरेका विभिन्न पत्रिकाका लेखहरुलाई पुनः प्रकाशन गर्ने योजना बनाएको छ ।
बिद्यालय पुनःनिर्माण, खेलकुद सामाग्री वितरण तथा अभिभावक भेलामा प्रमुख अतिथी समेत रहेका बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्लले शौभाग्य शाह फाउण्डेशनले बिद्यालयलाई गरेको सहयोग अविष्मरणीय रहेको बताए । माध्यामिक तहको बिद्यालय चलाउन अझैपनि समस्या भएकाले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन फाउण्डेशनलाई आग्रह गरे ।
सो क्रममा बिद्यालयका उत्कृष्ट शिक्षक, बिद्यार्थी लगायतलाई सम्मान पनि गरिएको बिद्यालयका प्रधानाध्यापक मानबहादुर खड्काले जानकारी दिए । उक्त कार्यक्रममा शौभाग्य शाह फाउण्डेशनका संरक्षक विनित शाहसहित पदाधिकारी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिर्ख रोकाय, अभिभावक संघका अध्यक्ष लोकबहादुर रोकाय, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।







