कोहलपुर : कोहलपुर क्षेत्रको समग्र विकासका लागि लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई ९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाइएको छ । कोहलपुरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल तरुण दल कोहलपुर नगर समितिले बीच उक्त ज्ञापन पत्र बुझाएको हो ।
तरुण दलका नगर सभापति हरी कठायतले मन्त्री हमाललाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बुझाउने क्रममा सभापति कठायतले कोहलपुरको विकासलाई प्राथमिकता दिन आग्रह गरे । सो क्रममा मन्त्री हमालले आफु मन्त्री भएपछि बाँके जिल्लाबासीले धेरै आशा र अपेक्षा गरेको बताए ।
कोहलपुरसहित बाँके जिल्लाको समग्र विकासमा आफुले सक्दो काम गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारु, क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, कांग्रेस नेता एवम् किसान संघ बाँकेका सभापति भानुभक्त भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरी, अन्य नेता तथा कार्यकर्ताको पनि उपस्थिती रहेको थियो ।
सो क्रममा मन्त्री हमालले हालै आएको वर्षाका कारण धान बालीमा पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेका थिए । त्यस क्रममा मन्त्री हमालले किसानको धान बालीमा पुगेको क्षतिबारे दुःख ब्यक्त गर्दै प्रदेश सरकारको ध्यानार्कषण भएको र प्रदेशले छिट्टै राहत कार्यक्रम ल्याउने बताए ।
कोहलपुर नगरपालिका वडा नम्बर २ मा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर गुरुप्रसाद थारु, विपदराम थारुसहित १ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको तरुण दल नगर सभापति कठायतले जानकारी दिए ।