नेपालगन्ज : ब्रिटिश इङ्लिस बोर्डिङ स्कुल नेपालगञ्जले कक्षा १० का विद्यार्थीहरूलाई एक भव्य समारोहका साथ बिदाई गरेको छ। सोमबार आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आफ्नो अग्रज दाजु, दिदीहरूलाई स्नेहपूर्वक बिदाई गरे ।
कार्यक्रममा बोल्दै कक्षा १० का विद्यार्थी जयन्द्र शाहीले विद्यालयले आफूहरूलाई जीवनको वास्तविक बाटो देखाएको बताउँदै भने प्रत्येक शुक्रबारका अतिरिक्त क्रियाकलाप अत्यन्त उपयोगी थिए । ती कार्यक्रमले हाम्रो नेतृत्व, आत्मविश्वास र व्यवहारिक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
त्यस्तै दक्षिणा शाहीले विद्यालयले आफूलाई धेरै कुरा सिकाएको बताउँदै भनिन्, 'यहाँ सिकेका सिकाईहरू मैले जीवनभर लागू गर्नेछु।' बृटिश स्कुलले मलाई धेरै कुरा सिकाएको बताइन ।
विद्यालयका प्रधानाध्यापक हेमन्तराज काफ्लेले बिदाईलाई नयाँ सुरुवातको रूपमा लिनुपर्नेमा जोड दिँदै भने, 'यो बिदाई होइन भविष्यको सुनौलो ढोका खुल्ने क्षण हो, मेहनत, अनुशासन र लगनशीलताले मात्र उज्वल भविष्य सम्भव हुन्छ, आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहनुहोस् भबिस्य उज्यालो छ,' उनले भने ।
विद्यालयका अध्यक्ष निरज शाहले आफ्नो मन्तव्य दिंदै भने, ' यो केवल बिदाई कार्यक्रम होइन, जीवनको नयाँ यात्रा सुरू गर्ने समय हो, हाम्रो विद्यालयले विद्यार्थीहरूलाई व्यवहारिक जीवनमा उपयोगी शिक्षा र अनुशासन प्रदान गरेको छ, तपाईंहरू जहाँ गए पनि ब्रिटिश स्कुल सधैं तपाईंहरूको साथमा रहनेछ ।'
उनले कक्षा ९ का विद्यार्थीहरूलाई पनि मिहिनेत गर्न र पढाइलाई जीवनको सबैभन्दा ठूलो साथी ठान्न सुझाव दिए। कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा मनोरञ्जनात्मक प्रस्तुति दिँदै कार्यक्रमलाई झनै रमाइलो बनाएका थिए ।