नेपालगन्ज : आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल पौवाद्वारा आयोजित स्वाद उत्सवको पहिलो दिन नेपालगन्जमा उत्साहजनक उपस्थिती देखिएको छ । नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वाद उत्सव देशभरका शाखाहरूमा सोमबारबाट एकैसाथ सञ्चालन भएको स्वाद उत्सवको पहिलो दिन नेपालगन्ज शाखामा ग्राहकहरुको उत्साहजनक उपस्थिती भएको होटल पौवाले जनाएको छ ।
स्वाद उत्सवमा सहभागी हुन सोमबार दिनभर स्थानीय पाहुनाको उपस्थिती भएको पौवाको नेपालगन्ज शाखाका प्रबन्धक गिरीराज पाण्डेले बताए । दिउँसोको समयमा अत्याधिक गर्मी भएकाले अपरान्ह ग्राहकहरुको भीड लागेको उनले बताए । अनौपचारिक सेवा दिइरहेको पौवामा सोमबार पहिलो दिन उत्साहजनक ब्यापार भएको पनि उनले बताए । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट दुई लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको उनले जानकारी दिए ।
ती सबै अतिथी पाहुनालाई पौवामा आएर खानाको निःशुल्क स्वाद लिन पाउनेगरी ब्यवस्था मिलाइएको पाण्डेले बताए । होटल पौवाले नेपालगन्जमा मात्र १ अर्बको हाराहारीमा लगानी गर्ने योजना बनाएको छ । नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्टर्न’ को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य आवास भवनको धमाधम निर्माण भईरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भई सकेको प्रबन्धक पाण्डेले बताए । नेपालगन्जको होटलमा नेपाली हस्पिटालिटी भित्र अन्तराष्ट्रिय सुबिधा रहने उनले बताए ।
उनले नेपालगन्ज शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुने जानकारी दिए । नेपालगन्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने उनले दाबी गरे । स्थापनाको ९ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ, भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।
लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरी पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्टसहित होटल संचालनमा रहेको छ ।
यस्तै सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा संचालन भइसकेको छ । १ वर्षभित्र पाल्पाको झिँगामारामा पौवा बनवास रिसोर्ट सञ्चालनमा आउने पौवा व्यवस्थापनले जनाएको छ । कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल सञ्चालनको प्रारम्भिक तयारी गरिएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा पनि थप होटल सञ्चालनको अध्ययन थालिएको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गईरहेको छ । अबको केही समयभित्र पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ ।