काठमाडौं : आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टोलीलाई युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराज 'अथक'ले बिदाई गरेका छन् ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभा हलमामा आयोजित बिदाइ कार्यक्रममा खेलकुद मन्त्री अथकले खेलाडी, प्रशिक्षक र टिम म्यानेजर सहितको टोलीलाई सफल यात्रा र जितको शुभकामना दिदै बिदाई गरेका हुन् ।
मन्त्री अथकले राष्ट्रिय खेलकुद परिषद मातहत करिव दुई सयको हाराहारीमा खेलकुद संघहरु रहेपनि नयाँ खेलाडीहरु ननिस्कनु र खेलकुदमा खेलाडीले आफ्नो भविष्य देख्ने वातावरण नबन्नुमा दुःख लागेको बताए । खेलाडीहरु राष्ट्रको पहिचान हो, गहना हो भन्ने र खेल पश्चात् अर्को व्यवहार गर्ने कार्य भएकोले यसलाई रोक्दै खेलभित्रै खेलाडीको भविष्य सुनिश्चित गर्न लागिपर्ने बताए ।
खेलाडीलाई ढुक्क भएर खेल खेल्न र विजयी बन्न शुभकामना दिदै भविष्य उज्यालो बनाउन आवश्यक नयाँ कार्यक्रम ल्याउनेमा ढुक्क र विश्वस्त हुन अनुरोध गरे ।
अन्तर्राष्ट्रिय बक्सिङ संघ आईबा को ७५ वर्षको वार्षिक उत्सवको अवसरमा सर्वियाको राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिख सम्म संचालन हुने २१ औँ वल्र्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको नेतृत्व सहित मुख्य प्रशिक्षक प्रकाश थापामगर र प्रशिक्षक किशोर लिम्बु, अफिसीयल्समा नेपाल बक्सिङ्ग संघका सदस्यहरु मान बहादुर भण्डारी र प्रनिर अधिकारी सहभागी हुनेछन् ।
बक्सिङ टोली शुक्रबार राती १०ः३० बजे फलाई दुवई एयरलाइन्सबाट प्रस्थान गर्न लागेको प्रवक्ता श्यामकाजी अवालेले प्रेस बक्तव्य मार्फत जानकारी दिएका छन् ।
नेपाल बक्सिङ संघले गठन गरेको छनोट समितीको प्रतिवेदन अनुसार छनोट गरिएको प्रतियोगिताबाट उत्कृष्ट ४८ के।जी। तौल समुहमा रविन थापा, ५७ केजी तौल समुहमा पुरन राई, ६३.५ केजी तौल समुहमा भुपेन्द्र थापा र ६७ केजी तौल समुहमा सुनिल शाहीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । सहभागी मध्ये भुपेन्द्र थापा र सुनिल शाही १३ औं दक्षिण एशियाली प्रतियोगिताका स्वर्ण पदक विजेता हुन् ।