नेपालगन्ज : नेपाली नयाँ वर्ष २०८२ लाई नेपालगन्जमा भब्य स्वागत गरिने भएको छ । नयाँ वर्षको पुर्वसन्ध्यामा होटल सिद्धार्थले विशेष सांगितिक कार्यक्रम गर्ने भएको हो । आइतबार बेलुका होटल प्राङ्गनमा विशेष सांगितिक कार्यक्रम गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
पश्चिम नेपालको सांगितिक इतिहासमा पहिलो पटक देशभरी लाखौंको मन जितिसकेको चर्चित ब्याण्ड ‘चेवाङ एण्ड द क्रेटर्स’ ले धमाकेदार लाईभ प्रस्तुती दिन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विशेष कार्यक्रमले शहरमै ऐतिहासिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ । ‘चेवाङ एण्ड द क्रेटर्स’ ले ‘जाउँ हिड कान्छी’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘कस्तो माया तिमीसँगै बस्यो’ लगायतका दर्जनौं चर्चित गितहरु प्रस्तुत गर्दै दर्शकलाई नचाउने सिद्धार्थका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले जानकारी दिए ।
हेर्नुस् भिडियो रिपोर्ट :
सांगितिक कार्यक्रममा स्थानीय प्रतिभालाई पहिलो प्राथमिकता दिइने पनि उनले बताए । भट्टका अनुसार कार्यक्रमको सुरुवात नेपालगन्जकै स्थानीय ब्याण्डबाट हुनेछ । ‘द समय ब्याण्ड’ लगायतका स्थानीय प्रतिभाहरुले सांगितिक माहोल तताउनेछन् । यसैगरी स्थानीय कलाकारहरुद्धारा साँस्कृतिक नृत्य र प्रस्तुती पनि रहनेछ । जसले कार्यक्रममा मौलिकता र क्षेत्रीयताको मिठास थप्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको अन्त्यतिर नेपालको चर्चित महिला डिजे ‘डिजे पिजा’ को करिव २ घण्टा लामो प्रस्तुति रहने होटलले जनाएको छ । उक्त कार्यक्रमलाई अवलोकन गर्न वयस्कका लागि २ हजार रुपैयाँ र ५ देखी १२ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ‘यसमा वेलकम ड्रिंक्समा जुस र क्यान बियरका साथै स्वादिष्ट स्न्याक्सको ब्यवस्था रहेको छ,’ भट्टले भने ‘कार्यक्रमको दौरानमा लक्की ड्रको पनि विशेष व्यवस्था गरिएको छ, जहाँ १० हजार रुपैयाँ बराबरको फर्निसिङ सामान जित्ने मौका रहेको छ ।’ कार्यक्रमका लागि टिकट काटेका मध्येबाट एक जना विजेतालाई आर्कषक पुरस्कारको ब्यवस्था गरिएको छ ।
सिद्धार्थ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले नेपाली नयाँ वर्षलाई विशेष बनाउन होटलले विभिन्न शाखामा कार्यक्रम गर्न लागेको बताए । नेपाली नयाँ वर्ष मनाउने सँस्कृतिको विकास गर्न भारतसम्म पनि प्रचार–प्रसार गरिएको जानकारी दिए । ‘नेपाली नयाँ वर्षलाई अंग्रेजी नयाँ वर्षभन्दा बढी प्राथमिकतामा राखेर नेपाली कलाकारलाई अघिल्लो पटक भन्दा राम्रा कलाकार ल्याएका छौं,’ उनले भने ।
होटल सिद्धार्थका प्रबन्धक प्रदिप कोइरालाले पारिवारीक वातावरणमा नयाँ वर्ष मनाउने ब्यवस्था मिलाएको न्यौपानेले बताए । नयाँ वर्षको अवसरमा दर्शकमाझ विशेष कार्यक्रम पस्किने जमर्को गर्दै खानपिन, मनोरञ्जन र पर्याप्त सुरक्षा ब्यवस्था मिलाइएको उनले बताए । ‘हामीले हाम्रो आन्तरिक सुरक्षाकर्मीका साथै बाहिरबाट थप निजी कम्पनीका सुरक्षाकर्मीलाई पनि ल्याउनेछौं, साथै आवश्यकता अनुसार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयबाट पनि सुरक्षाको प्रतिवद्धता पाएका छौं,’ कोइरालाले भने ।