कोहलपुर : बाँके राष्ट्रिय निकुञ्जले ३० औं वन्यजन्तु सप्ताह सोमबारबाट मनाउन सुरु गरेको छ । सप्ताहको पहिलो दिन सोमबार विभिन्न क्षेत्रका सरोकारवालालाई निकुञ्जमा सफारी गराइएको छ ।
निकुञ्जको कोहलपुरस्थित खड्गवार हात्तिसारबाट सुरु भएको सफारी ओभरीसम्म पुगेको थियो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले सातौं दिनसम्म विभिन्न कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको बताए । सप्ताह अन्तरगत ‘बुझौ वन्यजन्तुको आनीबानी, घटाऔं मानवसँगको द्धन्द्ध र हानी–नोक्सानी’ भन्ने मुल नारा रहेको छ ।
वन्यजन्तु सप्ताह मनाउने शिलसिलामा निकुञ्जभित्र रहेका वन्यजन्तु र मानवबीचको द्धन्द्धलाई घटाउनका लागि यसको बासस्थान ब्यवस्थापन अन्तरगत पानी पोखरी लगायतका घाँसे मैदानहरु ब्यवस्थापन गरिएको वरिष्ठ संरक्षण अधिकृत कँडेलले जानकारी दिए । ‘एउटै पोखरीमा बाघ, हात्ती, जरायो, चित्तल लगायतका विभिन्न वन्जयन्तुले विचरण गरेको देखिन्छ, जुन जनावरहरु बाहिर निस्केर मानवसँग द्धन्द्ध हुन्थ्यो, वन्यजन्तुको बासस्थानको ब्यवस्थापनले गर्दा त्यो घट्न गएको महसुस भएको छ,’ उनले भने ।
वन्जन्तु सप्ताह यही बैशाख ७ गतेसम्म चल्ने निकुञ्ज कार्यालयले जनाएको छ । वन्यजन्तु सप्ताह शुभारम्भ कार्यक्रममा प्रमुख संरक्षण अधिकृत कँडेलसँगै निकुञ्जको मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, समितिका सदस्यहरु, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगी, निकुञ्ज सुरक्षार्थ नेपाली सेना, पर्यटन ब्यवसायी, निकुञ्जका कर्मचारीहरु, पत्रकार, नेचर गाईड लगायतको सहभागिता रहेको थियो ।