कैलाली : सुदुरपश्चिमको धनगढीमा लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेटको छैटौं संस्करण माघ अन्तिम सातादेखि हुने भएको छ ।
लिटिल फ्लावर स्पोर्टस एण्ड इभेन्ट र लिटिल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा धनगढीमा पछिल्लो पाँच वर्षदेखि हुदैं आएको प्रतियोगिताको छैटौं संस्करण माघ अन्तिम सातादेखि हुने आयोजकले जानकारी गराएको छ । नेपाली क्रिकेटको भविष्य बलियो बनाउने उद्देश्यसहित गरिँदै आएको बताइएको विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट लिगमा देशभरका १० वटा विद्यालयले सहभागिता जनाउने भएका छन् ।
अघिल्लो संस्करणमा १६ वटा टिम सहभागी हुँदै आएकोमा यसपाली संस्करणमा १० टिम मात्रै सहभागी गराइने लिटिल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए । उनले भने, ‘अघिल्लो संस्करणसम्म १६ वटा टिमलाई चार समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइरहेका थियौं, यसपाली १० टिमलाई दुई समूहमा राखेर प्रतियोगिता सञ्चालन गर्छौ ।’
पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले सहभागी टीम र खेलाडीहरुले बढी भन्दा बढी खेल खेल्दै आफ्नो प्रतिभा देखाउन पाउन भनेर यसपाली खेल तालिका परिवर्तन गरेको बताए । धनगढी स्थित संघीय प्रहरी एकाई कार्यालयको मैदानमा हुने प्रतियोगिताको विजेता र उपविजेतालाई दिइने पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन ।
पुरस्कार राशी पनि चाँडै घोषणा गरिने अध्यक्ष शाहीले बताए । कोभिड १९को कहरका बीच अघिल्लो वर्ष सम्पन्न पाचौं संस्करणको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाएका थिए । छैटौं संस्करणको उत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडी नगद १०/१० हजार रुपैयाँबाट पुरस्कृत हुने जानकारी गराइएको छ ।
प्रतियोगितामा सहभागी विद्यालयले आफ्ना विद्यार्थीवाहेक अन्य चार जना खेलाडी १९ वर्ष मुनिका राष्ट्रिय खेलाडी समेत राख्न पाउने प्रावधान छ । पाँचौं संस्करणको उपाधि काठमाडौंको हिमालयन ह्वाइट हाउस कलेजले जितेको थियो । प्रतियोगिता आयोजनाको तयारी सुरु भइसकेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । शाहीका अनुसार सहभागी हुने सबै १० टिमको पनि टुंगो लागिसकेको छ ।