नेपालगन्ज : डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिका अन्र्तगत रहेका जेष्ठ नागरिकहरुको घरमा पुगेर स्वास्थ्य उपचार तथा स्याहारका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुक्रबार वडा नम्बर २ को होलियास्थित खडैचा गाउँका जेष्ठ नागरिकलाई सेवा कार्ड वितरण गर्दै शुभारम्भ गरे । कार्यक्रम शुभारम्भ गर्दै अध्यक्ष चौधरीले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार तथा स्याहारसहितको सेवा उपलब्ध गराउने बताए ।
‘जेष्ठ नागरिक विरामी छन् भने स्वास्थ्यकर्मी घरमै पुग्छन् र घरमै उपचार गर्छन्, त्यहाँ सम्भव नभए गाउँपालिकाको स्वास्थ्य केन्द्रमा ल्याएर उपचार गर्छन् दुई/तीन दिन राख्दा पनि निको नभए नेपालगन्जको भेरी अस्पतालमा लगेर उपचार गरिन्छ, उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले ब्यहोर्छ,’ अध्यक्ष चौधरीले भने ।
गाउँपालिका अन्र्तगत रहेका सम्पुर्ण जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य परिक्षण, औषधी वितरण, ल्याब टेस्ट, एम्बुलेन्स सेवा, तथा विशेषज्ञ सहितको स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराउने उनले बताए । गाउँपालिकाले दलित, अशक्त तथा एकल महिलाको हकमा ६० वर्ष र अन्यको हकमा ७० वर्ष पुगेका नागरिकहरुलाई यो सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए ।
गाउँपालिकाको वार्ड १ देखि ६ सम्म ७० वर्ष पुगेका एक हजार दुई सय ७२ जना छन् भने ६० वर्षलाई समेट्दा दुई हजार एक सय ३५ जना रहेको उनले बताए । सामाजमा जेष्ठ नागरिकलाई घर परिवारबाट सम्मान नगर्ने, शारिरीक अस्वस्थता, र उनीहरुको मानसिक समस्याको अन्त्य गर्नका लागि यो कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ ।
सबै जेष्ठ नागरिकका घर-घरमा पुगेर स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य सेवा कार्ड वितरण गर्न सुरु गरिएको छ । गतवर्षबाटै सुरु भएको यस कार्यक्रम कोभिड-१९ का कारण प्रभावित भएको थियो, भने यस वर्षदेखि प्रभावकारी रुपमा अघि बढाइनेछ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।