नेपालगन्ज : भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई सोमवार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । भेरी अस्पतालको सेवा सुदृढीकरणको पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ ।
उक्त समितिका सदस्य भास्कर काफ्ले, मोहित शाहसहित टेकबहादुर केसी सम्मिलित टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो । लाखौं लगानीको सिटीस्क्यान मेसिन जडान भई बिगतमा सञ्चालन भएपनि हाल बन्द रहेको छ । जसले गर्दा यहाँ आउने बिरामीले अन्यत्र सिटीस्क्यान गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता तत्काल हटाउन नयाँ सिटीस्क्यान मेसिन जडान वा मर्मतको काम तत्काल गर्न जोडदार गरिएको मिश्रले बताए ।
‘पश्चिमको प्रमुख सरकारी अस्पतालमा जम्मा दश शैया मात्रै आइसियु सञ्चालन हुनु बिडम्बना हो, कोभिड–१९ को महामारी थेग्ने सामाथ्र्य राखेको अस्पतालले त्यतिबेलाका पुर्वाधार अहिले उपयोग गर्न सकिरहेको छैन, सोको लागि न्यूनतम दश शैया आईसियु चिकित्सक र अन्य स्वास्थ्यकर्मीको ब्यवस्थापन सहित तत्काल आइसीयु विस्तार गर्न ध्यानाकर्षण गराइएको छ ।
कोभिड–१९ का समयमा अस्पतालको पुर्वाधारमा कायापलट गर्न गुरुयोजना तयार भएको थियो । त्यसलाई कार्यान्वयन गर्न आवश्यक देखिएको हुँदा त्यसको कार्यान्वयनका लागि अस्पतालको तर्फ आवश्यक पहल गर्न र आगामी आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गर्ने वातावरण तत्काल बनाउन माग गरिएको छ । भेरी जस्तो ठूलो अस्पतालमा बेग्लै प्रसुती गृह छैन । जसका कारण धेरै गर्भवती महिलाले सहज तरिकाले उपचार पाउन नसकेको गुनासो गर्दै आएका छन् । त्यस्ता समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।
भेरी अस्पताल विस्तार गर्दै विशिष्टकृत सेवा, पूर्वाधारसँगै आवश्यक जनशक्तिका लागि स्थायी दरबन्दी व्यवस्थापन र पदपूर्ति अपरिहार्य बनेको छ । यसतर्फ ध्यानाकर्षण गराइएको मिश्रले बताए । ध्यानाकर्षण पत्रलाई मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले सकारात्मक रुपमा लिएको मिश्रले बताए ।