नेपालगन्ज : त्रिभुवन आर्मी क्लवलाई निराश बनाउँदै नेपाल पुलिस क्लव लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा दुई विभागिय टिम आर्मी र पुलिसबीच प्रतिस्पर्धा गराइएको थियो ।
आर्मीलाई ‘सडनडेथ’मा ६-५ गोलले पराजित गरेर पुलिसले फाइनल यात्रा सुरक्षित गरेको हो । पुलिसको तर्फबाट पहिलो हापको २९ औं मिनेटमा मिना देउवाले एक गोल गरेकी थिइन् । आर्मीले निकै प्रयास गरेपनि पहिलो हाफसम्म कुनै गोल गर्न सकेन । खेलको दोस्रो हापको ८० औं मिनेटमा आर्मीका तुलसा बोहोराले एक गोल गरेर १-१ को बराबरीमा ल्याइन् ।
निर्धारित समयमा १-१ को बराबरीमा पुगेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । पेनाल्टी सुटआउटमा पनि आर्मी र पुलिसको गोल बराबर भएपछि खेल ‘सडनडेथ’मा धकेलियो । पुलिसको तर्फबाट रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले गोल गरे, भने मोनिका पुलामी मगर, मिना देउवा र समिक्षा घिमिरे गोल गर्न चुके ।
यस्तै आर्मीकी तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला बि.क र सुखरिया सुक्लखुले गोल गरेपनि अञ्चली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राईले गोल गर्न सकेनन् । खेलमा प्लेयर अफ द म्याच पुलिसकी गोलकिपर उषा नाथ घोषित भइन् । प्रतियोगितामा बुधबार विभागिय टोली एपिएफ क्लब र रौतहट फुटबल संघबीच हुनेछ ।