नेपालगन्ज : नेपाल पुलिस क्लवलाई १-० गोलले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लवले ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । नेपालगन्ज रंगशालामा शुक्रबार भएको दुई विभागिय टिम बीच भएको फाइनलमा एपिएफकी गिता रानाले गोल गरेकी हुन् ।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि ९ मिनेट इन्जुरी समय थपिएको थियो । इन्जुरी समयको ९ औं मिनेटमा एपिएफले लगातार तीन पटक कर्नर पायो । तेस्रो पटकको कर्नरमा एपिएफकी गिताले गोल गरिन् । उपाधि जितेसँगै एपिएफले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणत्र प्राप्त हात पारेको छ ।
प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले विजेता टिमलाई पुरस्कृत गरे । यस्तै उपविजेतामा चित्त बुझाएको पुलिस क्लवले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित एपिएफका अनिता बस्नेतले नगद २५ हजार सहित ट्रफी हात पारिन् ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक एफिएफकी भगवती थापा, उत्कृष्ट स्टाइकर एपिएफका अनिता केसी, उत्कृष्ट मिडफिल्डर एपिएफका सरु लिम्बु, उत्कृष्ट डिफेन्डर एपिएफका गिता राना र उत्कृष्ट गोल किपर घोषित पुलिस क्लवका उषा नाथले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।
फाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ गिता रानाले नगद ५ हजारसहित ट्रफी पाइन् । अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा यही बैशाख ५ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी भएका थिए ।

