बाँके (फत्तेपुर) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार शिक्षकका समस्या समाधान गर्नेभन्दा समस्या बल्झाउने र झन् समस्या थोपार्नेतिर अगाडी बढेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको रवैया शिक्षकका समस्या समाधान गर्नेतिर नभएको उनको भनाई छ ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तरगत आइतबार बाँकेको राप्ती सोनारी–६ फत्तेपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘सर्बोच्च अदालतले शिक्षकका समस्या तीन दिनभित्र समाधान गरेर बिद्यालय फर्किने बातावरण बनाउ भनेर सरकारका नाममा आदेश दिएको छ, सरकारले यसलाई ढिला नगरोस्, मैले सरकारमा सहभागी पार्टीका नेताहरुसँग कुरा गरेको छु, मन्त्रीसँग कुरा गरेको छ ।’

शिक्षकको समस्या समाधान गरेर बिद्यालय सुचारु गर्ने वातावरण बनाउन उनले आग्रह गरे । दाहालले भने, ‘म आशा गर्छु, सरकार गम्भिर हुनेछ ।’ सरकारले शिक्षकको आन्दोलनलाई गम्भिर रुपले लिएन भने यसले निकै नराम्रो रुप लिन सक्ने उनको चेतावनी छ । अर्को प्रसंगमा अब आउने चुनावमा माओवादी आफ्नै खुट्टामा उभिने बताए । ‘कांग्रेस र एमालेसँग समिकरण गरेर फाइदा जति कांग्रेस र एमालेले उठाए, घाटा माओवादीलालई भयो, अब हामी उनको खुट्टामा उभिने छैनौं,’ उनले भने ।
माओवादी आफ्नै खुट्टामा उभिएर अगाडी बढ्दा केही परिणाम उप–चुनाव र स्ववियु निर्वाचनबाट देखा परिसकेको अध्यक्ष दाहालले सुनाए । उनले थपे, ‘हामी एक्लै अगाडी बढ्दा नै जनताले साथ दिन्छ भन्ने प्रमाणित भयो, उप–चुनाव र स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा कांग्रेस र एमाले मिल्दा हामी एक्लै लड्दा पनि जित्यौं ।’
माओवादी केन्द्र २०८४ मा विजयी हुनैपर्ने अध्यक्ष दाहालले बताए । ‘समाजवादी क्रान्तिको झण्डा गाडेर मात्र माथी जाने भनेर म दौडेको तपाईहरुले देखिराख्नु भएको छ, तपाईहरुले संकल्प गरिदिनु भयो भने ७ महिनामै नेपालको रुप बदलिदिन्छौं,’ पुर्वप्रधानमन्त्री दाहालले भने । माओवादीलाई २०८४ मा विजयी गराउन अहिलेदेखी नै जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।

‘धेरै ठाउँमा जित्ने अवस्था देखिरहेको छ, जनयुद्धमा जस्तै मेहेनत गर्नुस् एक पटक,’ उनले भने ‘जनताको घरमा गएर क्षमायाचना गर्ने, हामी फेरी एक पटक तपाईहरुको निम्ती नयाँ आन्दोलनबाट आउँदैछौं भनेर भन्नुस् ।’ आफु प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दा जनतामा विश्वास पैदा भएको दाहालले जिकिर गरे ।
नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र न्यौपाने जेम्सको अध्यक्षतामा सम्पन्न उक्त सभामा नेकपा माओवादी केन्द्र राप्ती सोनारी अध्यक्ष जनकबहादुर थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने नेकपा माओवादी केन्द्रकी नेतृ एवम् संविधान सभाका पुर्वउपाध्यक्ष पूर्णाकुमारी सुवेदीले सम्बोधन गरेकी थिइन् । उक्त कार्यक्रम सञ्चालन माओवादी केन्द्र राप्ती सोनारी उपाध्यक्ष रामलखन थारुले गरेका थिए । कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
