सुर्खेत : उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज बि.क.सहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ । अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो ।
जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उप-रजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए । ‘फैसलामा आंशिक उल्टी भएको छ, रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो, त्यो सदर भएको छ, जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो, त्यसलाई उच्च अदालतले बदर गरेको छ । पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर नै भएकाले आंशिक उल्टी भएको हो,’ थापाले भने ।
उक्त घटनामा डम्बरबहादुर मल्ल (चौरजहारी नगरपालिका-८ का तत्कालीन वडा अध्यक्ष), सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुनमगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुनमगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजुलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । उनीहरूको जन्मकैदको फैसला उच्च अदालत सुर्खेतले सदर गरेको हो ।
जिल्ला अदालतले नवराजकी प्रेमिकाका भाइलाई उमेरका आधारमा २५ वर्षभन्दा कम कैद सजाय सुनाएको थियो । जन्मकैदको सजाय पाएका ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । नवराजकी प्रेमिका र उनकी आमालाई पनि जातीय विभेदमा दुई वर्ष कैद सुनाइएको थियो । तर, प्रेमिका नाबालिग भएकाले एक वर्ष चार महिना मात्र कैद बसे पुग्ने जिल्ला अदालतको फैसलामा उल्लेख थियो ।
उच्च अदालतले जातीय विभेद कसुरको सजाय उल्टाएसँगै उनीहरूको सजाय बदर हुने उप–रजिस्ट्रार थापाले बताए । फैसलाको पूर्णपाठ आउन भने बाँकी रहेको बताइएको छ ।