नेपालगन्ज : ‘वेष्टर्न टुरिजम मार्ट नेपाल–२०२१’ नेपालगन्जमा गरिने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुदै आइरहेको टुरिजम/ट्राभल मार्ट नेपालमै पहिलो पटक नेपालगन्जमा हुन लागेको हो । पश्चिम नेपालको पर्यटन प्रर्वद्धन गर्नका लागि पर्यटन मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा), हान लगायत विभिन्न पर्यटनसँग आवद्ध संघसंस्थाको संयोजनमा आगामी डिसेम्भर १४-१६ (मंसिर २८ देखी पुष १ गते) सम्म गर्न लागिएको छ ।
नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइएको छ । मुलुकमा कुल पर्यटन आगमनमा बृद्धि गर्ने, कोभिड पछिको पर्यटनको पुनउत्थानको लागि ठोस पहल कदम, पर्यटन क्षेत्रमा कार्यरत सम्पूर्ण निकायलाई परिचालन गर्ने, पर्यटनका गतिविधीलाई देशका विभिन्न स्थानसम्म पुर्याउने लगायत वेष्टर्न टुरिजम मार्टको उद्देश्य रहेको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले नेपाल र नेपालीको आर्थिक उन्नती गर्नमा पर्यटन ब्यवसायले ठुलो योगदान पुर्याएको बताए । ‘हामीले जति पर्यटन ब्यवयायलाई प्रर्वद्धन गर्न सक्यौ, जति अगाडी बढाउन सक्यौ,’ उनले भने ‘सहजीकरणका कुराहरुमा नेपाल सरकार र लुम्बिनी सरकारले जति गर्न सके, त्यति नै पर्यटन ब्यवसाय फक्रिदै जान्छ भन्ने विश्वास लिएको छु ।’
लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी ‘नमुना’ले नेपालगन्जलाई टुरिजम हब बनाउनका लागि सबै राजनीतिक दलको ऐक्यवद्धता आवश्यक रहेको बताइन् । ‘ऐक्यवतना सबैको हुन्छ कि हुदैन मुख्य कुरा त्यो हो, हाम्रा धेरै यस्ता कार्यक्रम भए, तर कार्यक्रमै सिमित हुने,’ उनले भनिन् ‘बाहिर आउँदा फेरी राजनीतिक रुप देखाइहाल्ने प्रवृत्ती छ ।’
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको तराईमा गर्ने गरी ७ वटा पर्यटन मार्ट गर्न बोर्डले निर्णय गरेकोमा त्यसमध्ये पहिलो मार्ट नेपालगन्जमा गर्न लागिएको जानकारी दिए । ‘यसको विशेष फोकस भनेको भारतका पर्यटक नै हुन्, नेपालको तराईमा जे-जति पनि पुर्वाधार बनाइएको छ, जे जति होटल खुलेका छन्, यो सबै कुनै राज्यले कुनै अनुदान दिएर खुलेका होइनन्,’ उनले भने ‘सिमा पारीका पर्यटकको सम्भावनालाई देखेर नै पर्यटकीय पुर्वाधारको विकास भएको हो ।’ नेपालको भविष्य बोर्डर ‘टुरिजम’ मै रहेको डा. रेग्मीले बताए । नेपाल र भारतका सबै नाकाबाट भारतीय पर्यटकलाई ल्याउन सकियो भने नेपाललाई पर्याप्त नै हुने उनको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले मुलुकको चार खम्बा मध्ये टुरिजम पनि एउटा खम्ब भएको बताए । ‘यहाँ हामीले टुरिजमको सम्भावनाहरु पनि अगाडी सारेका छौं, दुई वटा ठुला ताल बनिसकेको छ, तमाम वाटरपार्क र राम्रा होटल बनेका छन्,’ राणाले भने ।
नाट्टाका केन्द्रिय अध्यक्ष अच्युत गुरागाईले ‘वेष्टर्न टुरिजम मार्ट’ सफल पार्न प्रचार–प्रसार महत्वपुर्ण पाटो भएको बताए । यसका लागि सबै प्रकारका सञ्चार माध्यमको विशेष भुमिका रहेको धारणा राखे । ‘यो नेपाल सरकार, पर्यटन मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार र तपाई हामी सबै पर्यटन ब्यवसायीको कार्यक्रम हो, वेष्टर्न टुरिजम मार्टलाई प्रचार-प्रसार जति सक्यो बढी प्रचार-प्रसार भएपछि मात्र यो कार्यक्रम सफल हुन्छ,’ गुरागाइले भने । टुरिजम मार्टले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने उनको विश्वास छ ।
नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जमा वेष्टर्न टुरिजम मार्टमार्फत देश-विदेशका पर्यटनकर्मी, विदेशका टुरिजम बोर्डलाई नेपाल ल्याएर नेपालगन्ज र नेपलागन्ज वरपर चिनाउन सकेमा यहाँको पर्यटन क्षेत्र मात्र नभई हरेक क्षेत्रलाई चलायमान गराउने बताए । ‘नेपालगन्जबासीको सर्मथन र सहयोग रह्यो भने नेपालकै उत्कृष्ठ टुरिजम मार्ट बनाउने क्षमता हामी नेपालगन्जका पर्यटनकर्मी साथीहरुको छ,’ उनले भने ।
पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका नगर उप-प्रमुख उमा थापामगर लगायत एयरलाइन्स कम्पनी, होटल, पर्यटन क्षेत्रका प्रतिनिधी, नेपालगन्ज र भारतीय पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
भिडियो हेर्नुस् :