कोहलपुर : ट्राफिक प्रहरीले जहिल्यै पनि गुनासो गरिरहने एउटा विषय हो, ‘स्रोत साधन र जनशक्ती अभाव ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्न आउने अधिकांस प्रमुखले सुरुमा आउँदा यि समस्या पत्रकारलाई सुनाउँछन् । यो समस्या ट्राफिक प्रहरीले सुनाउन थालेको बर्षौ भइसकेको छ । तरपनि, ट्राफिक प्रहरीका समस्या समाधान नभएको उनीहरुबाट सुनिन्छ ।
हालै ट्राफिक प्रहरी कार्यालय बाँकेमा सरुवा भएर आएका प्रमुख ऐनबहादुर मल्लले पनि आइतबार यस्तै गुनासो पोखे, पत्रकार माझ । पत्रकारसँगको भेटघाट तथा अन्तरक्रियामा मल्लले जनशक्ति र स्रोत साधन अभाव रहेको गुनासो गरे । उनले जनशक्ति र स्रोत साधन अभाव हुँदा ट्राफिक व्यवस्थापन गर्न समस्या भइरहेको पनि बताए ।
जिल्लाको समग्र ट्राफिक व्यवस्थापन गर्नलाई कम्तिमा १ सय ५० जना ट्राफिक जनशक्ति आवश्यक भएकोमा बाँकेमा २८ जनाको मात्र दरबन्दी रहेतापनि अहिले ६२ जना मात्र कार्यररत रहेको जानकारी दिए । दिन प्रतिदिन सवारी साधनको संख्या बढिरहेपनि ट्राफिक दरबन्दी पुरानै रहेको सुनाए ।
ट्राफिक व्यवस्थापनमा मुख्य रुपमा स्थानीय सरकार उदासिन भएको आरोप लगाए । ‘अपेक्षाकृत रुपले स्थानीय सरकारबाट सहयोग र समन्वय नै भएन,’ प्रमुख मल्लले भने ‘अन्य जिल्लाको भन्दा बाँकेमा ट्राफिक ब्यवस्थापन र ट्राफिकसँग स्थानीय सरकारको समन्वय नै छैन ।’
ट्राफिक ब्यवस्थापनका लागि आफ्नो कार्यालय कडा रुपमा प्रस्तुत भइरहेको उनको भनाइ छ । ‘म आएको केही दिनमै चर्को आवाजमा गुड्ने २ सय ३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएका छौं, ७३ वटालाई कारबाही स्वरुप जरिवाना नै तिरायौं,’ मल्लले भने ।