काठमाडौं : नेपाली कांग्रेसले छठअघि नै १३ जिल्लामा वडा अधिवेशन गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिले सोमबार गरेको छलफलमा कांग्रेसका पदाधिकारीसँग यसबारे मंगलबार (भोली) छलफल गरेर अधिवेशनको मिति तय गर्ने तयारी गरिएको हो ।
नेपाली कांग्रेसले बाँकेसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन नै गर्न सकेको छैन । यी मध्ये रौतहट र रसुवामा क्रियाशील सदस्यताबारे अझै विवाद कायमै छ । कांग्रेसले गत भदौं १८ देखि वडा अधिवेशन सुरु गरेको थियो ।
कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन सकेर नयाँ नेतृत्व आइसकेको छ । कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले वडा अधिवेशन गर्न बाँकी रहेका जिल्लामा छठअघि नै अधिवेशन गर्ने गरी पार्टी पदाधिकारीसँग छलफल गरिने जानकारी दिए ।
‘वडा अधिवेशनको कार्यतालिका पार्टीले नै बनाउने हो तर हामीले पनि तिहार-छठअघि नै अधिवेशन गर्न सकिन्छ भनेर खाका दिन लागेका छौं,’ यादवले भने, ‘पदाधिकारीहरूसँग छलफल गरेपछि अधिवेशनको मिति तय हुन्छ ।’ कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने भनेपनि कार्यतालिका प्रभावित भइसकेको छ ।