नेपालगन्ज : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ लाई बाल बिवाह मुक्त वडा घोषणा गर्ने तयारी गरिदैछ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारुका अनुसार यही कात्तिक ११ गते उक्त वडालाई औपचारिक रुपमा घोषणा गर्न लागिएको हो ।
आफ्नो वडाले बालबिवाह मुक्त वडा घोषणा गर्नका लागि अपनाउनुपर्ने सबै मापदण्ड पुरा गरेकाले घोषणाको तयारी गरिएको उनले बताए । ‘बाल बिवाह मुक्त वडा घोषणा गर्ने हाम्रो तयारी भइरहेको छ, हामी वडाका जनप्रतिनिधी र कर्मचारी अहिले यही कार्यक्रमको तयारीमा जुटिरहेका छौं,’ सोमबार उनले भने ।
वडालाई बाल बिवाह मुक्त घोषणा गर्नका लागि प्रचार प्रचार लगायत अतिथीलाई निमन्त्रणा दिने काम सुरु गरिएको वडाअध्यक्ष थारुले बताए । प्लान, स्याक नेपाल लगायत संघ संस्थासँगको सहकार्य र समन्वयमा वडालाई बाल बिवाह मुक्त वडा घोषणा गर्न लागिएको हो ।
स्याक नेपालका जगदिश थापाले राप्ती सोनारी ७ लाई बाल बिवाह मुक्त वडा घोषणा गर्ने तयारीमा आफुहरु रहेको बताए । उनले यसका लागि पुर्वतयारीको काम चलिरहेको जानकारी पनि दिएका छन् । राप्ती सोनारीको वडा नम्बर ७ लाई संम्वेदनशिल वडा मानिन्छ । यहाँ थारु, मधेसी, मुस्लिम, पहाडी समुदायको बसोबास रहेको छ ।
विभिन्न जाती र भाषा भाषीको बसोबास रहेकाले यो वडाको विशेषता भिन्न छ । मधेसी तथा मुस्लिम समुदायमा बाल बिवाह गर्ने प्रचलन बढी हुने बताइन्छ । विविधताले भरिएको वडा नम्बर ७ का मधेसी तथा मुस्लिम समुदायमा बाल बिवाह गर्ने प्रचलनमा धेरै कमी आइसकेको वडाअध्यक्ष थारु बताउँछन् ।
‘पछिल्लो समयमा मधेसी र मुस्लिम समुदायमा बाल बिवाह गर्ने प्रचलन हाम्रो वडामा धेरै घटिसकेको छ, यो सकारात्मक पक्ष हो,’ उनले भने । बाल बिवाह मुक्त वडा घोषणा गर्नेमा यो वडा दोस्रो नम्बरमा पर्नेछ । यसअघि राप्ती सोनारी ३ मा बाल बिवाहमुक्त वडा घोषणा गरिएको थियो ।