काठमाडौं : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीको महाधिवेशन गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको पदाधिकारी बैठकमा निर्वाचन समितिलाई बोलाएर उनले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न निर्देशन समेत दिएका हुन् ।
बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरमा जसरी पनि महाधिवेशन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘सभापतिजीले मंसिरमा जसरी पनि सक्नुस् भनेर निर्वाचन समितिलाई भन्नु भएको छ ।’ पौडेलले आफूले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको पनि बताए ।
‘अधिवेशनका लागि मंसिर ९, १०, १२ जुन छ नि त्यसको सन्दर्भमा कार्यसमितिले पनि एकपल्ट त्यसलाई हेर्नुपर्छ, महाधिवेशन तयारी समिति पनि बनाउनुपर्ने छ, उपसमितिहरु बनाउनुपर्ने छ,’ उनले भने, ‘यसलाई फर्मलाइज गर्न पनि कार्यसमितिको आवश्यकता छ भनेर बैठकको माग गरेँ ।’
प्रधानमन्त्री देउवाले पदाधिकारी बैठकमा निर्वाचन समितिका पदाधिकारीहरुलाई बोलाएर महाधिवेशनका बारेमा छलफल गरेका थिए । निर्वाचन समितिका सदस्य एवम् वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पार्टीले सहयोग गरेमा मंसिरभित्रै महाधिवेशन गर्न सकिने भन्दै आफूहरुले दुई दिनमा नयाँ कार्यतालिका ल्याउने बताए ।
छलफलका क्रममा वरिठ नेता पौडेलले मंसिर ९ देखि १३ गतेकै मितिमा महाधिवेशन गर्नुपर्ने बताएका थिए । तर, निर्वाचन समितिले सो मितिमा महाधिवेशन गर्न नसकिने बताएको छ । कतिपय जिल्लामा वडा अधिवेशन पनि नभएको अवस्थामा अबको एक महिनाको अवधिमा महाधिवेशन गर्न नसकिने निर्वाचन समितिले बताएको छ । नेपाली काँग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको थियो ।