नेपालगन्ज : समृद्धिका लागि सञ्चार नेपालद्धारा सञ्चालित रेडियो भूवर भवानी ९८.८ मेगाहर्ज स्थापना भएको आज(बुधबार) दुई वर्ष पुरा भएको छ । २०७६ कात्तिक १० गते अर्थात् आजकै दिन सामुदायिक रेडियो भूवर भवानीले आफ्नो परिक्षण प्रशारणको यात्रा सुरु गरेको थियो ।
रेडियो स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा रेडियोले यस गौरवपुर्ण दिनमा समस्त स्रोता, विज्ञापनदाता, शुभेच्छुक लगायत सबैप्रति आभार प्रकट गरेको छ । विकट र ग्रामिण क्षेत्रलाई लक्षित गरेर स्थापना भएको रेडियोले आगामी दिनमा पनि माया, प्रेरणा र सद्भाव पाइराख्ने अपेक्षा गरेको छ । स्थानीय स्तरका स-साना घटना, समस्या, गतिविधी र कार्यक्रमलाई स्थान दिने भएकाले बाँकेको पुर्वी क्षेत्रमा रेडियो भूवर भवानी निकै लोकप्रिय बनिरहेको रेडियोका कार्यकारी प्रमुख अर्जुन ओलीले बताएका छन् ।
‘बाँकेको पुर्वी ग्रामिण क्षेत्रका जनता यसअघि रेडियोको पहुँचमा थिएनन्, स्थानीय स्तरमै रेडियो खुलेपछि विकटका नागरिकले सहज रुपमा सूचना र समाचार सुन्न पाएका छन्,’ उनले भने ‘राप्ती सोनारीकै अतिविकट मानिने सिमावर्ती क्षेत्र खयरभट्टीका जनताले यसअघि कहिल्यै समाचार र सूचना सुन्न पाउथ्येनन्, रेडियो भूवर भवानी स्थापना भएपछि घर घरमा रेडियो सुन्न पाएका छन्, यो त एउटा उदाहरण मात्र हो, यस्ता धेरै विकट बस्तीमा रेडियो भूवर भवानी जनताको सारथी बनेको छ ।’
रेडियोका स्टेशन म्यानेजर बिमला चौधरीका रेडियो दैनिक साढें १५ घण्टा नियमित रुपमा प्रशारण हुदै आएको छ । रेडियोले दैनिक रुपमा नेपाली र थारु भाषामा समाचारका साथै मनोरञ्जनात्मक कार्यक्रम र सन्देशमुलक सूचनाहरु प्रशारण गर्दै आएको उनले बताइन् ।