नेपालगन्ज : नेकपा एमाले राप्ती सोनारी गाउँपालिकाको समिति गठनमा विवाद उत्पन्न भएको छ । राप्ती सोनारीमा मंगलबार अधिवेशनले नयाँ नेतृत्व सर्बसम्मत चयन गरिएको भनि सार्वजनिक भएको थियोे । तर, उक्त अधिवेशनमा एकतर्फी रूपमा नेतृत्व चयन गरिएको भन्दै असन्तुष्टि बाहिर आएको हो ।
नेता सुर्य ढकाल रहेको एमालेको एउटा पक्षले राप्ती सोनारीको अधिवेशन सम्पन्न भएर पनि अध्यक्षमा मनोज केसी निर्वाचित भएको बताइरहेको छ । यस्तै तुल्सीराम थारु रहेको अर्को पक्षले अधिवेशन अझै नसकिएको जिकिर गरेको छ ।
‘अध्यक्ष र उपाध्यक्षमा सहमती भएको छैन, ती बाहेक अन्य पदहरुमा सर्वसम्मत भएको हो, कस्ले कस्लाई अध्यक्ष बनायो मलाई थाहा छैन, अध्यक्ष र उपाध्यक्षको बिषयमा छलफलमै छौं, अहिलेसम्म सहमति भएको छैन, ’ थारुले भने । एमालेका प्रदेश सचिवालय सदस्य समेत रहेका कार्यदल सदस्य ढकालले राप्ती सोनारीको अधिवेशन मंगलबार नै सम्पन्न भएको बताए ।
अध्यक्ष पदका दावेदार मदन ओलीले सामाजिक संजालबाट नै असन्तुष्टि पोखेका छन । उनलेे एकपक्षीय ढङ्गबाट अधिवेशन सम्पन्न गरिएको भनेर हल्ला फिजाएको प्रति असन्तुष्टि पोखेका हुन । धादलीपुर्ण ढङ्गबाट एकलौटी रुपमा पदाधिकारी घोषणा गरिएकोप्रति गम्भीर आपत्ति व्यक्त गर्दै उनलेे नेतृत्वले गरेको यसखालको रवैयाले पार्टीलाई बलियो नभई कमजोर बनाउने बताए ।
‘राप्ती सोनारीमा अधिवेशन सकिएको छैन, माइन्युट हाम्रो कब्जामा छ, बाहिर अधिवेशन सकियो र फलानो अध्यक्ष भयो भनेर सार्बजनिक गरेछन,’ ओलीले भने । एमालेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा पनि नेतृत्व चयनमा विवाद देखिएको बताइएको छ ।