नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ लाई बिहीबार(आज) बाल बिवाह मुक्त वडा घोषणा गरिदैछ । एक औपचारिक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले घोषणा गर्न लागेका हुन् ।
उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीसहित गाउँपालिकाका र वडाका विभिन्न जनप्रतिनिधी, संघ संस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहने भएको छ । वडा कार्यालयको प्राङ्गनमा एक समारोहका बीच वडालाई बाल बिवाह मुक्त घोषणा गर्न लागिएको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारुले जानकारी दिए ।
बालबिवाह मुक्त वडा घोषणा गर्नका लागि अपनाउनुपर्ने सबै मापदण्ड पुरा गरेकाले घोषणा गर्न लागिएको उनले बताए । ‘बाल बिवाह मुक्त वडा घोषणा गर्नका लागि अपनाउनुपर्र्ने मापदण्ड यस वडाले पुरा गरेको छ, त्यसकारण घोषणा गर्न लागेका छौं,’ वडाअध्यक्ष थारुले भने ।
प्लान, स्याक नेपाल लगायत संघ संस्थासँगको सहकार्य र समन्वयमा वडालाई बाल बिवाह मुक्त वडा घोषणा गर्न लागिएको स्याक नेपालका जगदिश थापाले बताए । बाल बिवाह मुक्त वडा घोषणा गर्नेमा यो वडा दोस्रो नम्बरमा परेको छ । यसअघि राप्ती सोनारी ३ मा बाल बिवाहमुक्त वडा घोषणा गरिएको थियो ।
राप्ती सोनारीको वडा नम्बर ७ लाई संम्वेदनशिल वडा मानिन्छ । यहाँ थारु, मधेसी, मुस्लिम, पहाडी समुदायको बसोबास रहेको छ । विभिन्न जाती र भाषा भाषीको बसोबास रहेकाले यो वडाको विशेषता भिन्न छ । मधेसी तथा मुस्लिम समुदायमा बाल बिवाह गर्ने प्रचलन बढी हुने बताइन्छ ।
विविधताले भरिएको वडा नम्बर ७ का मधेसी तथा मुस्लिम समुदायमा बाल बिवाह गर्ने प्रचलनमा धेरै कमी आइसकेको वडाका जनप्रतिनिधी बताउँछन् ।