नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ मा बाल बिवाह अहिले ५ दशमलभ २ प्रतिशतमा झरेको छ । विगत तीन वर्षदेखी वडामा निरन्तर सञ्चालन गरिएको अभियानबाट बाल बिवाह गर्ने दर घट्दै गएको हो । यसअघि उक्त वडामा बाल बिवाहको अवस्था निकै विकराल बनेको थियो ।
तीन वर्षअघि सन् २०१९ मा राप्ती सोनारीको समग्र बाल बिवाहको अवस्थालाई प्लान इन्टरनेशनल नेपालले प्रारम्भिक सर्वेक्षण गर्दा १९ वर्ष मुनि बिवाह गर्ने महिला ८३ प्रतिशत रहेका थिए । सोही हाराहारीमा बाल बिवाहको डरलाग्दो अवस्था वडा नम्बर ७ मा पनि थियो । त्यतिबेला बाल बिवाह न्युनिकरण गर्नका लागि वडा स्तरमा बलियो संयन्त्रण निर्माण भएका थिएनन् ।
२०७५ भदौं महिनामा जब ‘मुलुकी अपराध संहिता-२०७४’ लागु भयो र बिवाह गर्ने उमेर २० वर्ष अनिवार्य तोकेपछि वडामा बाल बिवाहविरुद्ध अभियान सञ्चालन हुदै गए । सरकारी र गैर सरकारी निकायले विभिन्न अभियान नै चलाए । वडा स्तरिय किशोरी क्लब सञ्जाललाई प्रभावकारी बनाउँदै लगियो । वडा कार्यालय र किशोरी क्लबसहित विभिन्न गैरसरकारी निकायले बालबिवाह विरुद्धका गतिविधीलाई अगाडी बढाउँदै लगे ।
परिणाम स्वरुप अहिले बाल बिवाह गर्ने दर ह्वात्तै घटेको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापा बताउँछन् । ‘राप्ती सोनारी ७ का १ सय ५० घरधुरीको सर्वेक्षण गर्दा अहिले बाल बिवाह गर्ने दर ५.२ प्रतिशतमा झरेको छ, जुन ठुलो उपलब्धी हो,’ दूरसञ्चार डटकमसँग थापाले भने । राप्ती सोनारी गाउँपालिकाले बाल बिवाह मुक्त अभियान सञ्चालन निर्देशिका-२०७७ बनाइसकेको छ ।
उक्त निर्देशिकाले बाल बिवाहको स्थिती २० प्रतिशत भन्दा कम भएमा बाल बिवाह मुक्त भएको घोषणा गर्न सक्ने ब्यवस्था गरेको छ । सोही निर्देशिका अनुसार अहिले वडा नम्बर ७ पनि बाल बिवाह मुक्त घोषित भएको थापाले प्रष्ट्याए । ‘घोषणा गर्नुपुर्व वडाका केही घरधुरीमा नमुना सर्वेक्षण गरिन्छ, त्यस सर्वेक्षणबाट आएको बाल बिवाहको स्थिती र त्यस आर्थिक वर्षमा भएको बिवाह दर्तालाई तुलनात्मक रुपमा अध्ययन गरेर प्रतिशत निकालिन्छ, यदी त्यो प्रतिशत २० प्रतिशतभन्दा कम भएमा बाल बिवाह मुक्त घोषणा गर्न सकिन्छ,’ उनले भने ।
राप्ती सोनारीको वडा नम्बर ७ संम्वेदनशिल वडा पनि हो । यहाँ थारु, मधेसी, मुस्लिम, पहाडी समुदायको मिश्रित बसोबास छ । विभिन्न जाती र भाषा भाषीको बसोबास रहेकाले यो वडाको विशेषता भिन्न रहेको छ । मधेसी तथा मुस्लिम समुदायमा बाल बिवाह गर्ने प्रचलन बढी हुने बताइएपनि अहिले धेरै कमी आइसकेको वडाअध्यक्ष रामलखन थारु बताउँछन् ।
सबै मापदण्ड पुरा गरेकाले उक्त वडालाई बिहीबार बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ मा आयोजित एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले घोषणा गरेकी हुन् । गाउँपालिका अध्यक्ष लाहुराम थारुले वडा नम्बर ७ लाई बाल बिवाहमुक्त वडा घोषणा गर्ने पुर्वतयारी भएपनि आफन्तको निधनले शोकमा रहेका कारण उनी सहभागी हुन सकेनन् ।
राप्ती सोनारी ७ का वडाअध्यक्ष रामलखन थारुको सभापतित्वमा सम्पन्न भएको घोषणा कार्यक्रममा विशिष्ट अतिथी एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारु, स्याक नेपालका कार्यसमिति सदस्य कृष्ण गिरी, समावेशी किशोरी क्लबका अध्यक्ष लोकमाया परियार लगायतले बोलेका थिए ।
स्थानीय गोचाली समाजका सचिव कालुराम थारुले सञ्चालन गरेको उक्त कार्यक्रममा वडाभित्र बाल बिवाहको अवस्था बारेमा स्याक नेपालका परियोजना प्रबन्धक थापाले प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा विभिन्न संघ, संस्था तथा ब्यक्तिलाई सम्मान गरिएको थियो, भने कार्यक्रम सुरु हुनुअघि र्याली निकालिएको थियो ।
यसरी गरिन्छ, बाल बिवाहमुक्त घोषणा
बाल बिवाहमुक्त घोषणा गर्नका लागि अपनाउनुपर्ने सबै मापदण्ड पुरा गरिसकेपछि वडामा रहेको बाल अधिकार समितिले गाउँपालिका/नगरपालिका स्तरिय बाल अधिकार समिति समक्ष सिफारिस गर्छ । उक्त सिफारिसलाई गाउँपालिका/नगरपालिकाको बाल अधिकार समितिले अनुमोदन गर्छ ।
गाउँपालिका/नगरपालिका स्तरिय समितिको संयोजक उपाध्यक्ष/उपप्रमुख रहने ब्यवस्था छ । यस्तै गाउँपालिका/नगरपालिकालाई घोषणा गर्दा पालिका स्तरिय बाल अधिकार समितिले सिफारिस गरेर पठाउँछ, त्यसलाई जिल्ला स्तरिय बाल अधिकार समितिले अनुमोदन गर्छ ।
यसैगरी जिल्लालाई बाल बिवाहमुक्त जिल्ला घोषणा गर्दा जिल्ला स्तरिय बाल अधिकार समितिले सिफारिस गर्छ र त्यसलाई प्रदेश स्तरिय बाल अधिकार समितिले अनुमोदन गर्छ । त्यस्तै प्रदेशलाई बाल बिवाहमुक्त प्रदेश घोषणा गर्नका लागि प्रदेश स्तरिय बाल अधिकार समितिले सिफारिस गर्छ र केन्द्रिय बाल अधिकार समितिले अनुमोदन गर्ने ब्यवस्था रहेको छ ।
यो पनि पढ्नुस् :
राप्ती सोनारी ७ लाई आज बाल बिवाहमुक्त वडा घोषणा गरिदै
राप्ती सोनारी ७ लाई बाल बिवाहमुक्त वडा घोषणा गर्ने तयारी