नेपालगन्ज : नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले स्वतन्त्र न्यायापालिका भित्रको विवादमा आफ्नो पार्टी तटस्थ रहेको बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल दलित संघ बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्ध संसदमा महाअभियोग लगाएपनि अहिले पास हुने अवस्था नरहेको बताए ।
उनले भने, ‘न्यायालयको विषयमा कांग्रेस तटस्थ छ, संसदमा हाम्रो बहुमत पनि छैन, यदी प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भइहालेपनि पास हुने अवस्था छैन ।’ अर्को प्रसंगमा नेता विश्वकर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेस ठुलो शक्ति हुने निश्चित रहेको बताए । तर, चुनाव जितिन्छ भनेर बागी उम्मेदवार नउठ्न कार्यकर्तालाई सचेत गराए ।
विश्वकर्माले भने, ‘चुनाव भनेको विचारधारा होइन, रणनीति हो, आर्दशका कुरा गरेर चुनाव जितिदैन, त्यसैले आसन्न चुनावमा रणनीति बनाउनुस् ।’ आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले जित्ने ठाउँमा एक्लै र नसक्ने ठाउँमा मिलेर लड्नुपर्ने धारणा राखे ।
‘कांग्रेसले जित्ने आधार भनेकै एक भएर अघि बढ्नु हो, तपाईहरु एकले अर्कालाई हराउने भन्दापनि एकतावद्ध भएर चुनावमा होमिनुपर्छ,’ उनले भने । कांग्रेसका नेताले टिकटकै लागि लड्ने मानसिकता त्याग्नुपर्ने बताए । नेपाली कांग्रेसको सरकार आएपछि दलितका मुद्दा हेर्नलाई देशभर ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दलित हेल्प डेस्क स्थापना गर्न सफल भएको बताए ।
यस्तै प्रहरी संगठनभित्र मर्यादित शब्द बोल्नुपर्ने कुरालाई कडाईका साथ कार्यान्वयनमा ल्याइएको र थरका नामबाट पनि नागरिकता लिन पाउने ब्यवस्था ल्याइएको बताए । नेपाल दलित संघका केन्द्रिय सभापति समेत रहेका विश्वकर्माले भने, ‘जातीय विभेद गरेमा तत्काल कारबाही हुने नयाँ ब्यवस्था ल्याइएको छ ।’ पार्टीको आसन्न १४ औं महाधिवेशनमा दलित, जनजाती, आदिवासी, खस आर्य, मधेशी, मुस्लिम, पिछडिएका समुदायको उल्लेख्य प्रतिनिधित्व गराउनुपर्ने उनले बताए ।
नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्ण बिकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेपाल दलित संघका केन्द्रिय उपसभापति कृष्ण बिक रसाइली, संविधान सभा सदस्यद्धय मैकुलाल बाल्मिकी र आशा बि.क, महासमिति सदस्य निरञ्जनसिंह सिजापति, कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख उमा थापामगर, नेपाल आदीवासी जनजाती संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, दलित संघका क्षेत्रीय सभापति लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन तोजिन्द्र बिकले गरेका थिए ।