नेपालगन्ज : ‘रोग लागेपछि अस्पताल पुग्ने होइन, रोग लाग्न नदिनु नै बेस हुन्छ, यसका लागि आफ्नो स्वास्थ्यको हेरचाह आफैले गर्नुपर्छ र वर्षमा एक पटक आफ्नो मृगौला चेक गराउने हो पछि दुःख पाइदैन,’ मृगौला रोग विशेषज्ञ डा. अर्चन सम्शेर राणाले शनिबार नेपालगन्जका पत्रकारसँग भने ।
नेपालगन्जस्थित एशोदा क्लिनिकको समन्वयमा भएको अन्तरक्रियामा विशेषज्ञ राणाले स्वस्थ मृगौला, स्वस्थ जीवन भन्ने अभियान अन्तर्गत आफुहरुले सचेतना फैलाउने काम गरिरहेको बताए । नेपालमा मृगौला रोगका बिरामी धेरै बढिरहेको र विशेषगरी ३० वर्षभन्दा कम उमेरका ब्यक्तको पिसाबमा प्रोटिनको मात्रा बढेर धेरैका मृगौलामा समस्या आएको सुनाए ।
‘नेपालमा मृगौला बिग्रिनुको प्रमुख कारण सुगर, प्रेसर र पिसाबमा प्रोटिनको मात्रा बढ्नु हो, हेर्दा मान्छेलाई थाहा हुदैन,’ उनले भने ‘३० वर्ष भन्दा कम उमेरकालाई पिसाबमा प्रोटिन देखिने हुन्छ, यो समस्या त १० जना मध्ये एक जनामा हुन सक्छ,’ उनले भने ‘५०/६० वर्ष भन्दा माथी उमेरकालाई सुगर र प्रेसरले मृगौलामा हान्छ, तर ३० वर्षभन्दा मुनिकालाई पिसाबमा प्रोटिनको मात्रा बढेर मृगौलालाई असर गर्ने गरेको छ ।’ कतिपय ब्यक्तिको मृगौलालाई लामो समयसम्म रहने पथ्थरीले पनि असर गर्ने गरेको बताए । ‘पेनकिलर’ औषधी सेवन पनि मृगौलाका लागि घातक हुने उनको भनाइ छ ।
‘रोग लागेपछि अस्पताल पुग्ने होइन, रोग लाग्न नदिनु नै राम्रो हो, आफ्नो स्वास्थ्यको हेरचाह आफैले गर्ने हो, अरु कसैले गर्दिएला भन्ने होइन, त्यसैले वर्षमा एक चोटी आफ्नो मृगौला जाँच गराउनुस्,’ उनले भने, ‘वर्षमा एक चोटी ८ सय रुपैयाँ खर्च गर्न गाह्रो नहोला, सामान्य मान्छेले पनि वर्षमा एक पटक मृगौला चेक गराउनु भयो भने पछि दुःख पाउनु हुदैन ।’
काठमाडौंको विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ राणा एशोदा क्लिनिकको समन्वयमा बेला–बेलामा नेपालगन्ज आउने गर्छन् ।