नेपालगन्ज : धेरै जसो ब्यक्तिको एउटा सपना हुन्छ, कमाईले साथ दियो भने जीवनमा एक चोटी राम्रो घर बनाउने र पेन्ट्स लगाएर चिटिक्क सजाउने । तर, घरमा प्रयोग गर्ने पेन्ट्सको गुणस्तर र यसले मानव स्वास्थ्यमा पुर्याउने असरप्रति भने कसैको चासो हुदैन । न पेट्न प्रयोग गर्ने उपभोक्ताको चासो हुन्छ, न त अनुगमन गर्ने सरकारी संयन्त्रको नै ।
नेपालमा पाइने अधिकांस पेन्ट्समा प्राणघातक रसायन लेडको मात्रा अधिक रहेको विज्ञले औल्याइसकेका छन् । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, सिफेड काठमाण्डौंले हालै गरेको एक सर्वेक्षणमा यस्तो तथ्य फेला परेको हो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा सिफेडले गत साउनदेखी भदौं महिनासम्म देशभरका विभिन्न स्थानबाट संकलन गरेको ईनामेल पेन्ट्समा लेड सिसाको मात्रा अधिक रहेको फेला पारेको हो ।
सरकारले २०७१ साल पुष ७ गते प्राणघातक रसायन लेड सिसायुक्त सम्बन्धि मापदण्ड बनाई राजपत्रमा प्रकाशित समेत गरेको थियो । तर, उक्त मापदण्ड सार्वजनिक भएको ७ वर्ष पुग्नै लाग्दा नेपालमा विक्री वितरणमा रहेका इनामेल र पेन्ट्समा मापदण्ड विपरित बढी लेड रसायन पाइएको छ ।
उक्त मापदण्ड अनुसार कुनैपनि ईनामेल र पेन्ट्समा ९० पिपिएम भन्दा कम मात्रा हुनुपर्ने व्यवस्था गरिएको छ । लेडको मापदण्ड पालना सम्बन्धि अध्ययनको परिणाम मापदण्ड प्रभावकारी भएको ६ वर्षभन्दा बढी भईसकेपनि कार्यान्वयन भने निकै कमजोर रहेको पाइएको छ ।
सिफेडले हालै गरेको सर्वेक्षण अनुसार देशभरका कुल ६२ नमूना मध्ये ३२ वटा पेन्टमा मात्र मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाइएको छ । यस्तै अध्ययनमा सम्मिलित कुल २६ वटा लेड मूक्त वा लेड नमिसाइएको लोगो अकिंत पेन्टको नमूना मध्ये २० वटा पेन्टमा मात्र मापदण्डमा तोकेको अधिकतम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाईएको थियो, भने ६ वटा अर्थात २३ प्रतिशतमा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा बढी लेड पाईको वतावरण वैज्ञानिक साहले जानकारी दिए ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, सिफेड काठमाण्डौंका कार्यकारी निर्देशक एवं वतावरण बैज्ञानिक रामचरित्र साहका अनुसार उक्त अध्ययनले देखाएको मापदण्ड पालनाको अवस्थामा सुधार देखिएपनि कुनै-कुनै पेन्टमा अझै अत्यधिक मात्रामा लेड रहेको पाइएको छ । जसमा २२८५० पिपिएमसम्म लेड पाइएको साहले बताए । मापदण्ड भन्दा २५३ गुणा बढीसम्म लेड पाइएको अवस्थामा पेन्ट्समा लेडको मापदण्ड पुर्ण रुपमा पालना र प्रभावकारी कार्यान्वयन गर्न र गराउन सरकार असफल भएको उनी बताउँछन् ।