नेपालगन्ज : पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अन्तर्गत कचनापुर जंगलमा रोकिराखेको ट्रकसँग हाइस ठोकिदाँ ४ जना घाइते भएका छन् । पश्चिमतर्फ फर्किर सडकमा रोकिराखेको ना ६ ख ४०४४ नम्बरको ट्रकसँग तुलसीपुरबाट कोहलपुरतर्फ जादै गरेको बा २ ख २१०६ नम्बरको हाइस आइतबार बेलुकी ७ बजेतिर ठोकिएको हो ।
बिग्रेको उक्त ट्रकको पछाडीबाट ठोक्किदाँ हाइसमा सवार ४ जना घाइते भएका हुन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
घाइते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार नेपालगन्ज १८ बस्ने २० वर्षका चन्द्रप्रकाश सिंह, रुकुम(पश्चिम) आठबिसकोट नगरपालिका वडा नम्बर १० बस्ने १९ वर्षका विराज शाही, कालिकोट महावइ गाउँपालिका वडा नम्बर ७ का १९ वर्षकै भरत परियार र सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १० का १८ वर्षीय विवेक योगी घाइते भएका छन् ।
घाइते मध्ये योगीको टाउकोमा चोट रहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बीच जंगलमा भएको उक्त दुर्घटनाका घाइतेलाई प्रहरी नपुग्दै अन्य सवारी साधनका यात्रुले उद्दार गरेका थिए । घाइतेको उद्धारमा खटिएका नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य सुधान्सु कोइरालाले घाइते मध्ये एक जनाको अवस्था निकै गम्भिर रहेको सुनाए ।
‘म सहित केही साथीहरु प्राइभेट गाडीमा दाङबाट नेपालगन्जतिर फर्किरहेका थियौं, बेलुकाको समय थियो, हाइस हामी सँग सँगै आइरहेको थियो, हाम्रो गाडीलाई ओभरट्याक गरेर हाइस अलि अगाडी गइसकेको थियो,’ कोइरालाले भने ‘अगैया र सम्शेरगन्जको बीच जंगलमा आउँदा त त्यही हाइस रोकिराखेको ट्रकसँग ठोक्किएको देख्यौं, त्यसपछि हामीहरु नै घाइतेलाई उद्धार गरेर अस्पतालतिर पठाउने काम गर्यौं ।’