काठमाडौं : दोस्रो ‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा १५ प्रतियोगीलाई पछि पार्दै सुजिता बस्नेतले ताज जित्न सफल भएकी छन् ।
काठमाडौंकोे होटल याक एन्ड यतिमा भएको प्रतियोगितामा निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रीतिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन गरेर १६ प्रतियोगीको प्रतिस्पर्धा रहेको थियो ।
परिचयात्मक, निर्णायक प्रश्न लगायत विभिन्न चरणमा आयोजित प्रतियोगिताका प्रतियोगी आकर्षक पहिरन सहित र्याम्पमा समेत पटक–पटक उत्रिएका थिए । उत्कृष्ट १६ बाट १० र ५ हुँदै अन्तमा विजेता घोषणा गरिएको कार्यक्रममा प्रतियोगीले हरेक राउण्डमा बिकनी, गाउनलगायत फरक-फरक पहिरनमा आफुलाई र्याम्पमा प्रस्तुत गरेका थिए ।
विश्व प्रतिष्ठित सौदर्य प्रतियोगिता ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधि पठाउने उदेश्यले गत वर्षदेखि ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठको संस्था उमङ्ग क्रियसनले नेपालमा उक्त प्रतियोगिता आधिकारिक रुपमा सुरु गरेको हो ।