नेपालगन्ज : विगत १४ दिनदेखी हराएका ३७ वर्षीय रेशम तिमिल्सीनाको शव सोमबार दिउँसो फेला परेको छ । उनको हत्या नै भएको दाबी सहित परिवार र आफन्तले कुकुरसहित नेपाल प्रहरीको दक्ष जनशक्तिबाट अनुसन्धान हुनुपर्ने माग गर्दै शव उठाउन मानेका छैनन् ।
घटनास्थल वरिपरी रहेका तीन वटा गाउँबाट ठुलो संख्यामा उपस्थित भएका स्थानीय बासिन्दा र प्रहरीबीच अहिले तनाव उत्पन्न भएको छ । सो क्रममा प्रहरीले अश्रु ग्याँस, लाठी चार्ज गर्नुका साथै हवाई फायर समेत गरेको स्थानीयले बताएका छन् । स्थानीयले प्रहरीलाई लखेटेका छन् ।
अछाम, कमल बजार नगरपालिका वडा नम्बर ५ निवासी बेपत्ता रेशमको गैरीटाड बजार नजिक प्रहरी चौकीको पछाडी सोमबार दिउँसो २ बजेतिर शव भेटिएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रेशमसँगै सुतेका उमेश शाहीसहित अर्का गणेश शाहीलाई पनि पक्राउ गरेको छ । तर प्रहरीले उक्त घटनाको अनुसन्धानमा गम्भिरता नदेखाएको पीडित पक्षको आरोप छ ।
हत्या आरोपी र स्थानीय प्रहरी चौकीका इन्चार्ज आफन्ती भएकाले उक्त घटनामा दोषीलाई कारबाही हुनेमा परिवार र आफन्तले शंका ब्यक्त गरेका छन् । रेशमको प्रहरीसँग समेत रिसिबी रहेको र प्रहरीको संलग्नतामा हत्या गरिएको हुन सक्ने आफन्त रमेश तिमिल्सेनाले बताए ।
'प्रहरी र स्थानीय बासिन्दाबीच अहिले तनावपूर्ण स्थिती छ, प्रहरीले लाठी चार्ज र अश्रुग्याँस प्रहार गर्नुका साथै हवार फायर पनि गरिसकेको छ, प्रहरीले सुरुमा लाठी चार्ज गरेपछि यस्तो स्थिती आएको हो,' उनले टेलिफोनमा भने ।
मृतकको शरिरभरी निलडाम र टाउको फुटेकाले हत्या नै भएको उनको दाबी छ । मृतक नेपाली कांग्रेसका स्थानीय नेता पनि हुन् । घटनाको विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख (डिएसपी) तुलसीराम अर्याललाई पटक पटक सम्पर्क गर्दा फोन उठाएनन् ।