नेपालगन्ज : अवरुद्ध बनेको नेपालगन्ज विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको ९एन–एएचबी नम्बरको जहाजसँग मंगलबार बिहान तीन वटा बदेल ठोक्किएपछि विमानस्थल अवरुद्ध बनेको थियो । नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार बदेलको मासु धावन मार्गभरी छरिएपछि बिहान करिव ७ बजेदेखी ८ बजेर ३० मिनेटसम्म सम्पुर्ण उडान बन्द गरिएको थियो ।
अवरुद्ध भएको विमानस्थल बिहान ८ बजेर ३० मिनेटदेखी सञ्चालनमा आइसकेको झाले बताए । ‘विमानस्थल अहिले सञ्चालनमा आइसकेको छ, धावनमार्ग सबै सफा गरेपछि सञ्चालनमा ल्याएका हौं,’ उनले भने । विमानस्थल सञ्चालन भएपछि काठमाडौंबाट बुद्ध, श्रीएयर लगायत कम्पनीका जहाज नेपालगन्ज आएर पनि काठमाडौं फर्किसकेको झाले बताए ।
प्रमुख झाका अनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि सिता एयरको सिता एयरको उक्त जहाज उड्ने तयारीमा थियो । धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेर दुर्घटना हुनबाट जोगाएका थिए । जहाजमा रहेका चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेको र उक्त जहाजको उडान रद्ध भएका कारण यात्रुहरु घर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा–टुक्रा परेको अवस्थामा फेला परेका थिए । बदेलको मासु धावन मार्गभरी छरिएका कारण बिहान पानीले धोएर सफा गरिएको विमानस्थल कार्यालय प्रहरी इन्चार्ज, एवम् प्रहरी नायव निरीक्षक (सई) सन्तोष शाहले बताए ।
‘धावनमार्ग भरी मासु र रगत थियो, बिहान दमकलको पानीले सफा गर्यौं,’ उनले भने ‘जहाजलाई पार्किङ क्षेत्रमा ल्याएर राखेका छौं, करिव डेढ घण्टा जति अवरुद्ध रहेको विमानस्थल सञ्चालनमा आइसकेको छ ।’ जहाजसँग ठोक्किएका बदेललाई कानुनी प्रक्रिया पुरा गरी गाडिएको शाहले बताए । उनका अनुसार बिहान सिता एयरले उडान भर्नुअघि डोल्पाका लागि तारा र समिट एयरले उडान भरेका थिए । ‘तेस्रो उडान भर्दै गर्दा बदेल ठोक्किएको हो,’ उनले भने ।
यो पनि पढ्नुस् :
सिता एयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो, तीन वटा बदेल जहाजसँग ठोक्किए