नेपालगन्ज : नेपालगन्ज विमानस्थलको झाडी सफाई सुरु गरिएको छ । नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बदेल एकैपटक ठोकिएका थिए ।
धावन मार्ग वरिपरी बढेको झाडी र बुट्यानमा बस्ने वन्यजन्तु पटक पटक जहाजसँग ठोकिने क्रम बढ्न थालेपछि बुधबारबाट सरसफाई सुरु गरिएको हो । विमानस्थलको रनवे वरिपरीको झाडी र बुट्यान हटाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य खत्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १ सय ५० जना जनशक्तिलाई सरसफाईमा खटाइएको जानकारी दिए । ‘यो काम खासमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो बजेटबाट गर्नुपर्ने हो, तर पटक-पटक जहाजसँग वन्यजन्तु ठोकिने क्रम बढ्न थालेपछि सुरक्षाका हिसाबले तत्कालै सरसफाई गर्नु परेको हो ।’ बुधबारबाट सुरु भएको सरसफाई केहीदिनसम्म चल्ने प्रजिअ खत्रीले बताए ।
सरसफाइमा प्रजिअ खत्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुख, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी लगायत पनि उपस्थित छन् । नेपालगन्ज बिमानस्थलको सुरक्षा लापरबाहीले गर्दा पटक-पटक यस्ता जोखिमको बेहोर्नु परिरहेको छ । विमानस्थलको हाल १७ सय मिटर लामो धावन मार्ग छ ।
धावन मार्ग वरिपरी बाक्लो मात्रामा झाडी र बुट्यान छन् । त्यहाँ बदेल, खरायो, निलगाई, दुम्सी, स्याल लगायत वन्यजन्तुले बासस्थान नै बनाएका छन् ।
यो पनि पढ्नुस् :
अवरुद्ध बनेको नेपालगन्ज विमानस्थल सञ्चालनमा
सिता एयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो, तीन वटा बदेल जहाजसँग ठोक्किए