काठमाडौं : दाङ, रुपन्देही, नवलपरासी पश्चिम, गोरखा, मोरङ, धनुषा, सुनसरी, चितवन र सुर्खेतका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–१० चौलाहीस्थित सडकमा रा४प ६०५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–११ नवलपुर घर भएका ३५ वर्षीय कैलाश भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–५ का २९ वर्षीय विमल शर्माको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सुर्खेत, बीरेन्द्रनगर नगरपालिका–१३ झुप्रा खोलानजिक सडकमा रा१च १३१० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब डेढ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपका चालक दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने २९ वर्षीय राजु बि.क.को मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपका सहचालक रोल्पा लिवाङ नगरपालिका–३ का १६ वर्षका लोकेन्द्र सुनार उपचारपछि डिस्चार्ज भएका छन् ।
यसैगरी सुर्खेत बीरेन्द्रनगर नगरपालिका–११ ठूलो बिउरेनीनजिक सडकमा कर्णाली प्रदेश०२–००१ प ७६६९ नम्बरको स्कुटरलाई कर्णाली प्रदेश ०२–००१ क ०१२४ नम्बरको ट्रकले बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सुर्खेत छिन्चु बस्ने २८ वर्षीय रविन राना मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार भेरीगंगा नगरपालिका–१२ की ३२ वर्षीया रानी रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पश्चिम सुनवल नगरपालिका–१२ हरकट्टास्थित सडकमा प्र ३–०१–२३ च १२६६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–११ भडेरीका ३५ वर्षीय लोकहरि न्यौपानेको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चौरहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा गण्डकी गाउँपालिका–३ तिवारीगाउँस्थित सडकमा ग१त ५७८८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरले किच्दा सोही ठाउँस्थित देवकोटा गाउँका ५५ वर्षीय प्रेमप्रसाद देवकोटाको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ धनपालथान गाउँपालिका–३ मोरियापुलस्थित सडकमा प्रदेश१–०४–००१ ख ००२२ नम्बरको बसले साइकललाई बुधबार दिउँसो ठक्कर दिँदा साइकलमा सवार रंगेली नगरपालिका–३ की २८ वर्षीया रेखा पासवानको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते उनको रंगेली अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका साइकल चालक उनकै श्रीमान ३१ वर्षीय उमेश पासवानको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ उर्लाबारी नगरपालिका–४ आइतबारे चोकस्थित सडकमा को१ख ७८२८ नम्बरको बसले प्रदेश १–०२–०४१ प ४४०८ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका ७२ वर्षीय नगेन्द्रप्रसाद ढुंगानाको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, धनुषा मिथिला नगरपालिका–९ बडहरीस्थित सडकमा बा४ख ८०७५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षका मीनबहादुर विश्वकर्माको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । गाडीसहित हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी दुहबी नगरपालिका–३ स्थित सडकमा बा८४प ४२९ नम्बरको मोटरसाइकललाई ना८ख ५६५६ नम्बरको ट्रकले बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिकाका ३० वर्षीय अभिषेक भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचार क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही कञ्चन गाउँपालिका–४ अस्नैयास्थित सडकमा लु३७प ५९७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको विद्युत पोलमा ठोकिएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–३ सोघाका ३० वर्षका बमबहादुर क्षत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
त्यस्तै, चितवन भरतपुर महानगरपालिका–१६ शान्तिचोकस्थित सडकमा लु४त ८८५७ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टर चालक सोही ठाउँका २७ वर्षीय मिलन गुरुङको मृत्यु भएको छ । गुडिरहेको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।