नेपालगन्ज : इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) रबिन्द्र खनालले अपशब्द प्रयोग गरी मान, मर्यादा र प्रतिष्ठामा आघात पुर्याएको भन्दै बाँकेकी एक जनप्रतिनिधीले उजुरी हालेकी छन् ।
राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले जिल्ला प्रशासन कार्यालय बाँकेमा डिएसपी खनालविरुद्ध उजुरी दर्ता गरेकी हुन् । उक्त उजुरीमा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरिएको छ, भने नगर/गाउँपालिका उपाध्यक्ष महासंघ बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौं र गृहमन्त्री तथा गृहमन्त्रालय सिंहदरबार काठमाडौंलाई बोधार्थ दिइएको छ ।
राप्ती सोनारी गाउँपालिका ८ सम्शेरगन्ज बजार नजिक महेन्द्र राजमार्गको पुलमा दुई जना महिलालाई बसले ठक्कर दिई मृत्यु भएको विषयमा छलफलका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा गएको अवस्थामा इप्रका प्रमुख रबिन्द्र खनालले आफुसँग अपशब्द बोली आफ्नो मान मर्यादा र प्रतिष्ठामा आघात पुग्ने गरी अभद्र ब्यवहार गरेको निवेदक उपाध्यक्ष खत्रीले बताइन् ।
डिएसपी खनालले पुनः सम्शेरगन्जमा एक जना बालिकालाई भ्यानले ठक्कर दिइ घाइते बनाएकोमा सो विषयमा इप्रकामा छलफलका क्रममा पनि खनालले आफुलाई अपशब्द बोली मान मर्यादा र प्रतिष्ठामा आघात पुग्ने गरी अभद्र ब्यवहार गरेको निवेदनमा उल्लेख छ । डिएसपी खनाललाई कार्यालयमा झिकाई आवश्यक कानुनी कारबाही गर्न उपाध्यक्ष खत्रीले निवेदनमार्फत माग गरेकी छन् ।
प्रमुख जिल्ला अधिकारी सुर्य खत्रीले गाउँपालिका उपाध्यक्ष खत्रीको उजुरी प्राप्त भएको र दुबै पक्षलाई छलफलमा बोलाउने बताए । ‘मेरो मान मर्यादा र प्रतिष्ठामा आघात पुग्ने गरी अभद्र ब्यवहार भयो भनेर उपाध्यक्षले उजुरी दर्ता गराउनु भएको छ,’ प्रजिअ खत्रीले भने ।
डिएसपी खनालले आफुले उपाध्यक्ष खत्रीमाथी कुनैपनि अपशब्द नबोलेको बताएका छन् । ‘जनप्रतिनिधी भएर उहाँ आफै आन्दोलनमा सहभागि हुनुहुन्थ्यो, मैले तपाई जस्तो ब्यक्तीले यस्तो नगर्नुस् मात्रै भनेको हुँ, यो बाहेक कुनै शब्द बोलेको छैन,’ डिएसपी खनालले भने ।
भिडियो हेर्नुस् :