नेपालगन्ज : सल्यानमा भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । मृतक मध्ये १० जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु हुनेमा १० जना महिला र २ जना पुरुष रहेका छन् । दुई बालबालिका सहित थप दुई मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाका अनुसार दुर्घटनामा परी दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर ६ कोरबाङका ५ वर्षीय सुरज ओली, सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक ओलीको मृत्यु भएको छ ।
यसैगरी शारदा नगरपालिका वडा नम्बर १२ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्चकुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा मृत्यु भएको डिएसपी थापाले बताए ।
घाइते ७ जनलाई थप उपचारको लागि नेपालगन्ज ल्याइएको छ । प्रहरीका अनुसार केही घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरीले थप ७ जना घाइतेको सल्यानमै उपचार भइरहेको छ । उक्त बसमा ३० यात्रु सवार रहेका थिए ।
सडकको खराब अवस्था र तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ । घाइतेका अनुसार चालकले मदिरा सेवन गरेका थिए ।