नेपालगन्ज : नेपाली कांग्रेसका नेताले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई 'पुर्नजीवित' गर्ने विश्वास गरेका छन् । नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।
लुम्बिनी प्रदेशका उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री बीर बहादुर रानाले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई 'पुर्नजीवित' गर्ने विश्वास गरे । उनले वडादेखि केन्द्रसम्म असल नेतृत्व चुन्न सके मात्र कांग्रेसले पुर्नजीवन पाउने बताए ।
पार्टी संगठन ठिकसँग नचल्दा कमजोर बन्दै गएको भन्दै मन्त्री रानाले यसको समिक्षा गर्न जरुरी भएको धारणा राखे । मुलुकको सबैभन्दा पुरानो पार्टी किन कमजोर भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले १४ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिए । एकताको महाधिवेशन बनाउनमा सबैले प्रण गर्नुपर्ने उनको भनाइ छ ।
पूर्व सिंचाई राज्यमन्त्री एवम् पार्टीका रोल्पा जिल्ला सभापति अमरसिंह पुनले अझैपनि अधिवेशन सार्ने चलखेल भएको बताए । उनले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने बताए । नेपाली कांग्रेस कपिलबस्तुका सभापति एवम् पूर्व सिंचाई राज्यमन्त्री सुरेन्द्र आचार्यले आसन्न अधिवेशनले पार्टीलाई पुर्नजीवित गर्नेमा आफु आशावादी रहेको बताए । आचार्यले वडादेखि केन्द्रसम्म सही नेतृत्व आउन सकेपछि मात्र कांग्रेस पार्टी सुदृढ हुने बताए ।
कांग्रेसका युवा नेता एवम् जिल्ला कार्यसमिति सदस्य सुधान्सु कोइरालाका अनुसार उक्त कार्यक्रम कांग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नेपाली कांग्रेस बाँकेका पूर्वसभापति कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य बादसा कुर्मी, अब्दुल हमिद सिद्दिकी 'भोला', आशा बि.क लगायतले बोलेका थिए ।