नेपालगन्ज, भदौं ११ : नेपालगन्जस्थित भेरी अस्पतालमा पुनः कोरोना संक्रमितको संख्या बढेको छ । अस्पतालको कोभिड वार्डमा संक्रमित खचाखच भरिएका छन् । कोरोना संक्रमितले अस्पतालका शैड्ढया(बेड) क्रमशः भरिदै गएका छन् ।
नेपालन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रुपमा बढ्दो क्रममा छ । अस्पतालमा आउने संक्रमितहरु अधिकांस गम्भिर खालका रहेको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालको कोभिड वार्डमा एक महिनाअघि सम्म ५÷६ जना मात्र संक्रमित भर्ना भएकोमा अहिले त्यो संख्या ह्वात्तै बढेको हो । अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालले हाल संक्रमितलाई हल ‘ए’ र हल ‘बी’ मा राखिएको छ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांक अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको छ । त्यसमध्ये १ सय ५८ जना होमआइसोलेसनमा बसिरहेका छन् । यस्तै बाहिरी जिल्लाका ३९ जनाले बाँकेमा उपचार गराइरहेका छन् । कोरोना संक्रमण बढेपछि अस्पतालमा बिरामीको चाप पनि अहिले बढ्दै गएको अस्पतालकी नर्सिङ अधिकृत अर्याल बताउँँछिन् । उनले भनिन्, ‘संक्रमण बढेपछि कोभिड वार्डमा अहिले चाप बढेको छ, दिनहुँ मृतकहरु बढेका छन्, स्थिती गाह्रो बन्दै गएको छ ।’
कोरोना संक्रमण नियन्त्रण र ब्यवस्थापनमा खटिदै आएका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले अस्पतालमा संक्रमितको चाप पुनः बढेको बताएका छन् । ‘कोभिडको संक्रमण फेरी बढेको छ, अस्पतालमा बढेको संक्रमितको चापले सहजै पुष्टी गर्छ,’ उनले भने । कोरोना संक्रमणको दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अहिले पुनः संक्रमण दर फैलिदै गएपछि स्वास्थ्य क्षेत्रका सम्वद्धहरु चिन्तित भएका छन् । संक्रमण पूर्ण रुपले नियन्त्रणमा नआउँदै पुनः बढेपछि नेपालगन्जबासी पनि त्रसित छन् ।
अस्पतालका फिजिसियन डा. संकेत रिसालले अस्पतालमा संक्रमित भर्ना दर थपिदै गएको र संक्रमित भर्ना संख्या अझ बढ्ने बताए । ‘दिनहुँजसो संक्रमितको मृत्यु भईराखेको छ, कोभिडको संक्रमण एकदमै डरलाग्दो रुपले फैलिरहेको छ,’ उनले भने ।
बाँके प्रशासनले गत बैशाख दोस्रो साताबाट जिल्लाभर जारी गरेको निषेधाज्ञा अहिले पनि कायमै छ । बजार, पसल ब्यवसाय, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सार्वजनिक सवारी साधन, रेष्टुरेन्ट, क्याफे लगायत स्थानमा सर्बसाधारणको भिड अत्यधिक देखिन्छ । ती स्थानमा स्वास्थ्य मापदण्ड पालना गरिदैन । निषेधाज्ञा कार्यान्वयन फितलो भएकै कारण संक्रमण दर बढेको स्वास्थ्यकर्मी बताउँछन् ।